कारोबार


त्रिविले समकक्षता नदिँदा सीए उपाधि प्राप्त गरेका विद्यार्थी मर्कामा

त्रिविले समकक्षता नदिँदा सीए उपाधि प्राप्त गरेका विद्यार्थी मर्कामा

नेपालखबर
चैत ११, २०७७ बुधबार १५:४,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरोकारवाला तत्कालै सरोकारवाला पक्षको बैठक राखेर चार्टर्ड एकाउन्टेन्ट (सीए) ले पाइरहेको समकक्षता स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको कदमबाट सिर्जित समस्या हल गर्ने बताएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्स संघको प्रतिनिधिमण्डलसँग बुधबार आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री श्रेष्ठले त्यस्तो आश्वासन दिएका हुन्।

‘राज्यले पढ्न बोलाउने, पढाउने र पास गरिसकेपछि बेवारिसे बाउन मिल्छ र?’ सीएलाई दिइँदै आएको समकक्षता स्थगन गर्ने त्रिभुवन विश्वविद्यालयको कदमप्रति प्रश्न गर्दै मन्त्री श्रेष्ठले भने, ‘तुरुन्तै त्रिभुवन विश्वविद्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र शिक्षा मन्त्रालयबीच मिटिङ राखेर यो समस्या हल गर्न पहल गर्छु।’

संघका अध्यक्ष आनन्द शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयले सीए उपाधि प्राप्त गरेका विद्यार्थीलाई विगतमा दिँदै आएको स्नाकोत्तर समकक्षता स्थगित गरेको जानकारी गराउँदै उक्त निर्णय फिर्ताका लागि पहल गरिदिन मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो।

संघले कठोर मेहनत, धैर्य र लगनशीलताका साथ सीए उपाधि प्राप्त गरेका विद्यार्थी त्रिभुवन विश्वविद्यालयको कदमबाट प्रत्यक्ष प्रभावित भएको जनाएको छ।

त्रिभुवन विश्वविद्यालयले एउटा सूचना समेत प्रकाशित नगरी सीएलाई स्नातकोत्तरमा भर्ना नलिएको र समकक्षता दिने समयमा भर्ना भई अध्ययन सकेर अहिले उत्तीर्ण भएकालाई समेत ट्रान्स्कृप्ट र प्रमाणपत्र दिन इन्कार गरेको गुनासो मन्त्रीसमक्ष राखेको थियो।

समकक्षताको प्रमाणपत्र उपलब्ध नहुँदा सम्भावित रोजगारीको अवसर, संस्थागत नियुक्ति, उच्च शिक्षा र अध्ययन, अनुसन्धान लगायत अवसरबाट सिएहरु बिमुख हुनुपरेको संघको गुनासो छ ।

‘विश्वभर चार्टर्ड एकाउन्टेन्टलाई कर, लेखा, लेखापरीक्षण तथा वित्त क्षेत्रका विषयविज्ञको रुपमा लिइन्छ र यसको पाठ्यक्रम सोही अनुसार डिजाइन गरिएको हुन्छ। विज्ञको रुपमा विश्वभर सम्मानित यो पेसालाई राज्यले उचित व्यवहार नगर्दा सिएहरु पेसागत सम्मान र सामाजिक प्रतिष्ठाका खोजी तथा उच्च शिक्षा हासिल गर्न बिदेसिने खतरा छ,’ संघको प्रतिनिधिमण्डलले भेटका अवसरमा शिक्षामन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा शैक्षिक तथा प्राज्ञिक संस्थाहरु तथा तिनका प्रमाणपत्र वा उपाधिलाई मान्यता तथा समकक्षतासँग सम्बन्धित मापदण्ड अनुसार छलफल गरी यथाशीघ्र निर्णय गर्ने आश्वासन दिए पनि यस शैक्षिक सत्रमा उच्च शिक्षामा सिएहरुले भर्ना हुन नपाएको संघको गुनासो छ।

अन्तर्राष्ट्रिय अभ्यासमा चार्टर्ड एकाउन्टेन्ट शिक्षाको एकेडेमिक कोर्स म्यापिङ गरी समकक्षता दिने व्यवस्था रहेको संघको भनाइ छ। संघले भेटमा भारत तथा बेलायतको समकक्षता प्रदान गर्ने निकायको सूचना पनि मन्त्रीलाई बुझाएको छ।

समकक्षता स्थगनले सिए उपाधि प्राप्त विद्यार्थीको थप अध्ययन, सरकारी क्षेत्रमा रोजगारी तथा संस्थागत नियुक्तिमा समस्या खडा गरेको भन्दै संघले आवश्यक नीतिगत व्यवस्था गरी त्यस्ता विद्यार्थीलाई समकक्षता दिने व्यवस्था मिलाउन आग्रह गरेको छ।

निर्जा श्रेष्ठले सहजीकरण गरेको प्रतिनिधिमण्डलमा संघका अध्यक्ष आनन्द शर्मा वाग्ले, उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र सदस्य कुनाल कयाल सहभागी रहेको संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad