नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले धितोपत्र बजारमा लागू गरिएको बुक बिल्डिङ विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ। छलफलमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बुक बिल्डिङको आवश्यकता, प्रक्रिया, नीतिगत व्यवस्थाबारे जानकार गराएका छन्।
बोर्डका कार्यकारी निर्देशक गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए। यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए। अहिले राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे।
धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्नसक्ने जानकारी उनले दिए।
उक्त विधिबाट आईपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कूल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।
साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मूल्य’ को १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ।
पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्डले केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ।
यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनससहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालीरहेको बताएको छ।
अन्तक्र्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, ‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन।’ सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘-याडर’मा राखेको उनले बताए।
Shares

प्रतिक्रिया