कारोबार


नेपालमा कोभिड खोेपमा सहयोग गर्न विश्व बैंकले दिने भयो ७ करोड ५० लाख डलर

नेपालमा कोभिड खोेपमा सहयोग गर्न विश्व बैंकले दिने भयो ७ करोड ५० लाख डलर

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ५:२७,

विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोपका लागि ७ करोड ५० लाख डलर सहायता प्रदान गर्ने भएको छ।

विश्व बैंकको कार्यकारी सञ्चालक समितिले सो प्रस्ताव बिहीबार पारित गरेको हो।

सुरक्षित र प्रभावकारी कोभिड–१९ विरुद्धको खोपमा नेपाली नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) मार्फत् सो सहायता प्रदान गर्न लागिएको विश्व बैंकले जनाएको छ।

‘यो आर्थिक सहायताबाट समान वितरण प्रणालीमार्फत नेपालको कम्तीमा एकतिहाइ जनसंख्यालाई खोप लगाउन सहजीकरण हुने अपेक्षा गरिएको छ’, विश्व बैंकले वाशिङटनबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘यो महामारीले खासगरी खोप खरिद, आपूर्ति र वितरणमा भयानक चुनौती र अनिश्चित वातावरण सिर्जना गरेको हो’, नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका निर्देशक फरिस हदाद–जर्भोसले भनेका छन्, ‘कम्तीमा ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने नेपाल सरकारको महत्वाकांक्षी योजनालाई सहयोग गर्न यस बैंकले तत्काल चालेको यो कदले नेपाल र यस बैंकबीचको बलियो साझेदारीलाई पुष्टि गर्दछ।’

विश्व बैंक यसअघि पनि गत अप्रिल महिनामा कोभिड–१९ आपत्कालीन पहल तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत २ करोढ ९० लाख डलर सहायता गरेको थियो।

‘यसमध्ये अधिकांश सहयोग (९० प्रतिशत) कोभिड खोप खरिद र प्राथमिकतामा परेका जनसंख्याका लागि परिचालन गर्न खर्च गरिनेछ, जुन कोभ्याक्समार्फत खोप लगाइने २० प्रतिशत जनसंख्याभन्दा बाहेक हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाँकी वित्तीय सहयोग कोभिड–१९ खोप वितरणमा र परीक्षण, ल्याब उपकरण र उपचार विधि लगायतका कोभिड–१९ सम्बन्धी खरिद प्रक्रियामा सहयोगका लागि प्रयोग गरिनेछ।’

अतिरिक्त वित्तीय सहयोगबाट सामुदायिक सहभागिता, जोखिम सञ्चार, विद्यमान डिजिटल प्रविधिमा आधारित महामारीसम्बन्धी तथ्यांकको सबलिकरण, अनुगमन प्रणाली लगायतमा पनि सहयोग गरिनेछ।

‘नेपाली जनताको शारीरिक स्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यको सुरक्षा गर्नका लागि नेपाललाई यो सहयोग निकै महत्वपूर्ण हुनेछ,’ स्वास्थ्य, पोषण र जनसंख्याबारे दक्षिण एसियाका लागि विश्व बैंकका प्रबन्धक गेल रिचार्डसनले भनेका छन्, ‘जोखिमपूर्ण जनतालाई आमरुपमा सुरक्षित खोप छिटो र न्यायिकरुपमा प्रदान गर्दा समुदायगतरुपमै रोग प्रतिरोधात्मक क्षमताको विकास हुनेछ र यो नै कोभिड–१९ का भयानक असरबाट बँच्ने मुख्य उपाय हो।’

विश्व बैंकले अहिले उपलब्ध गराएको अतिरिक्त वित्तीय सहयोग बैंकले दक्षिण एसियामा कोभिड–१९ भ्याक्सिन अभियानको पहिलो चरणमा गर्न लागेको खोप सहयोग अन्तर्गतका तीन परियोजामध्येको एक हो।

बिहीबार नै बैंकले बंगलादेशका लागि ५० करोड डलर, अफगानिस्तानका लागि ६ करोड डलर प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad