हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। विद्युत् मर्मतका लागि बर्सेनि लाखौं रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन।
विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरबाहीका तथा दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्नु परिरहेको हो।
कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीय भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो।
विद्युतगृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिक रूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय (सिमकोट) ले जानकारी दिएको छ।
हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन्। फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ।
सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले बताए।
त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो गरे। दैनिक ४ घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन्।
लोडसेडिङको समय बढ्दै गएपछि विद्यार्थीलाई थप समस्या बनाएको छ। राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा गृहकार्य गर्न समस्या भइरहेको मानसरोवर माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा एञ्जिला रोकायाले बताइन्।
यस्तै जेठमा हुने एसइई तयारी गरिरहेका छात्रछात्रालाई झन् समस्या बनाएको छ। गाउँबाट ट्युसन पढ्न सदरमुकाम सिमकोट आएका विद्यार्थीलाई दैनिक २० घण्टा लोडसेडिङ हुँदा समस्या भइरहेको हो। रासस
Shares

प्रतिक्रिया