कारोबार


निगमले गर्‍याे एक हजार ट्यांकरमाथि कारवाही

निगमले गर्‍याे एक हजार ट्यांकरमाथि कारवाही

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १३:४०,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ।

निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो।

निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्यांकरलाई कारवाही गरेको छ।

लकिङ तथा फिटिङ चेक गर्दा गलत ढंगले पाइपलाइन ट्यांकीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ। ट्यांकीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्यांकरलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ।

यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्यांकरलाई कारवाही गरेको जनाएको छ। कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ। निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ।

कार्यालयले पाँच चालक-सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ। अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्यांकरलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ। निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने ३०० ट्यांकर तथा ट्रकलाई कारवाही गरेको छ। निगमले जरिवानाबापत ती ट्रक तथा ट्यांकरबाट १० हजार संकलन गरेको छ।

महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए।

‘निगमको कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारवाही हो’, उनले भने।

अनियमित गर्ने ट्यांकरमाथि कारवाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad