ad ad

कारोबार


यस्तो रह्यो २०२० मा एनसेलको कारोबार

यस्तो रह्यो २०२० मा एनसेलको कारोबार

नेपालखबर
फागुन १५, २०७७ शनिबार १२:२३,

एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले आफ्ना मातहतका पाँच दूरसञ्चार कम्पनीको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उसले एनसेलसँगै मलेसियाको सेलकम, इन्डोनेसियाको एक्सएल, श्रीलंकाको डायलग र बंगलादेशमा रहेको रोबी टेलिकमको वित्तीय विवरण सार्वजनिक गरेको हो।

आजियाटाको तथ्यांकअनुसार केही कम्पनीको आम्दानी घटेको छ भने केहीको बढेको छ।

उक्त कम्पनीले ८० प्रतिशत लगानी गरेको नेपालको एनसेलको गत वर्ष आम्दानी घटेको छ। उसले एक वर्षको अवधिमा झन्डै १२ अर्ब रुपैयाँ गुमाएको छ।

एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२० चौथो त्रैमासिक वित्तीय विवरणअनुसार डाटा खपतबाट हुने आम्दानी बढिरहेको बेला कुल आम्दानी भने घटेको छ।

कम्पनीको विवरणअनुसार सन् २०२० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिकसँगै यसको कुल आम्दानी ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

यो सन् २०१९ को भन्दा झन्डै १२ अर्बले कमी हो। सो वर्षमा कम्पनीको आम्दनी ५४ अर्ब १६ करोड रुपैयाँ थियो।

डाटा खपतबाट १० अर्ब आम्दानी
एनसेलले गत वर्ष आर्जन गरेको राजस्वमध्ये २४ प्रतिशत डाटा खपतबाट आएको छ। जसअनुसार एनसेलले गत वर्ष डाटाबाट १० अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको छ।

एनसेलका कुल ग्राहकमध्ये ४८.५ प्रतिशत डाटाका ग्राहक रहेका छन्। जसअनुसार ७६ लाख २६ हजारभन्दा धेरैले एनसेलको डाटा प्रयोग गरिरहेका छन्।

ग्राहक संख्या १ करोेड ५७ लाख 
सन् २०२० मा एनसेलका कूल ग्राहक संख्या १ करोड ५७ लाख २५ हजार पुगेका छन्। जसमध्ये ३ लाख ९० हजार पोस्टपेड र १ करोड ५३ लाख ३६ हजार प्रिपेड ग्राहक रहेका छन्।

ग्राहकको संख्या पनि अघिल्लो वर्षभन्दा घटेको देखिन्छ। अघिल्लो वर्ष उसका कुल ग्राहक १ करोड ६८ लाख पुगेका थिए।

स्मार्टफोन बोक्ने ६५ प्रतिशत
आजियाटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसका कुल ग्राहकमध्ये ६५ प्रतिशतले स्मार्टफोन बोक्छन्।

उक्त विवरणअनुसार हाल एनसेलको कुल ग्राहक १ करोड ५७ लाख २५ हजार पुगेका छन्। यस हिसाबले हेर्दा कुल ग्राहककमा १ करोड २ लाखभन्दा धेरैले स्मार्टफोन बोकेको देखिन्छ।

सन् २०१९ मा स्मार्टफोन बोक्ने ग्राहकको संख्या ६२ प्रतिशत थियो। त्यसअनुसार यो वर्ष ३ प्रतिशले वृद्धि भएको देखिन्छ।

पछिल्ला वर्षहरुमा स्मार्टफोनका साथै इन्टरनेटको मूल्यमा गिरावट आएका कारण स्मार्टफोन र डेटा प्रयोग गर्ने उपभोक्ताको संख्या उल्लेख्य रुपमा बढिरहेको छ।

६ हजार ७ सय टावर
एनसेलले मुलुकभर आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा बीटीएस टावरको संख्यामा पनि वृद्धि गरेको छ। पछिल्लो वित्तीय विवरणअनुसार उसका थ्रिजी र फोरजी नेटवर्कका ६ हजार ६ सय ८९ वटा टावर निर्माण गरिसकेको छ।

यो अघिल्लो वर्षको तुलनामा ५ सय ४७ ले बढी हो। गतवर्ष उसले फोरजी टावरमा उल्लेख्य वृद्धि गरेको छ। २०२० मा उसले ४४३ वटा फोरजी नेटवर्कका टावर निर्माण गरेको थियो।

आजियाटाका अन्य कम्पनीको अवस्था के छ?
पाँच देशमा दूरसञ्चार कम्पनी सञ्चालन गरेको आजियाटाले एनसेलसँगै सबै कम्पनीको २०२० को वित्तीय विवरण सार्वजनिक गरेको हो।

आजियाटाले नेपालमा एनसेलसहित मलेसियामा सेलकम, इन्डोनेसियामा एक्सएल, श्रीलंकमा डायलग र बंगलादेशमा रोबी सञ्चालन गरेको छ।

एनसेलसँगै मलेसियामा रहेको सेलकमको आम्दानीमा पनि गिरावट आएको तथ्यांकले देखाउँछ।

इन्डोनेसियाको एक्सएल, श्रीलंकाको डायलग, बंगलादेशको रोबी कम्पनीको आम्दानी भने अघिल्लो वर्षको तुलनामा बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .