कारोबार


व्यवसायमा बैंकको साथ पाए यसरी फस्टाउँछ लगानीकर्ताको सीप र मेहनत

व्यवसायमा बैंकको साथ पाए यसरी फस्टाउँछ लगानीकर्ताको सीप र मेहनत

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ११:४४,

केही वर्षअघिसम्म धेरै व्यवसायी बैंकबाट ऋण लिन डराउँथे। ऋण लिन चाहनेहरुलाई बैंकसम्मको पहुँच पनि थिएन।

लगानीकर्तालाई बैंक र बैंकलाई लगानीकर्ता चाहिन्छ। पछिल्लो समय बैंकहरुको पहुँच बढ्दै गएको छ। बैंकले लगानीकर्तालाई आकर्षित गर्न विभिन्न सुविधाहरु पनि दिन थालेका छन्।

लगानीकर्तालाई बैंकबाट ऋण लिन र व्यवसाय विस्तार गर्न सजिलो भएको छ। यसबाट एकातिर उद्योग व्यवसायमा लगानी बढेको छ भने अर्कोतिर अर्थतन्त्रको खम्बा मानिएको बैंक तथा वित्तीय संस्था सबल हुँदै गएका छन्।

हामीले बैंकबाट फाइनान्स गरेर राम्रो व्यवसाय गरिरहेका उद्योग व्यवसायीहरुको सफलताको कथा लेखिरहेका छौँ। यसैक्रममा नबिल बैंकबाट ऋण लिएर व्यवसायमा सफलता पाएका केही उद्यमीहरुको कथा प्रस्तुत गरेका छौँ।

मुलुककै ठूलो ढलाइ उद्योग सञ्चालन गरिरहेका नारायणप्रसाद
नारायणप्रसाद शर्माले तीन दशकअघि बुटबलमा ढलााइ कारखाना खोलेका थिए। त्यसबेला मुलुककै ठूलो सरकारी ढलोट कम्पनी काठमाडौँमा थियो।

शर्माले बुटबलमा आफ्नो उद्योग विस्तार गर्न लागे। आज शर्माले स्थापना गरेको मेटल कास्ट मुलुककै ठूलो ढलाई कम्पनी बनेको छ।

२०४२ सालतिर शर्माले सरकारी बैंकबाट १५ हजार ऋण लिएर व्यवसाय सुरु गरेका थिए। व्यवसाय विस्तार हुँदै जाँदा लगानी अझ बढी चाहिने भयो।

सन् २००७ मा उनी नबिल बैंकमा पुगे। जहाँबाट २७ लाख रुपैयाँ ऋण लिए। त्यही ऋणको सहयोगमा उनले उद्योग विस्तार गरे।

‘नबिल बैंकबाट बुबाले लिएको २७ लाखले उद्योग बिस्तार गर्न सहयोग भयो,’ उनका छोरा निश्चल शर्माले भने।

प्लान्ट विस्तारसँगै थप बैंकको सहयोग चाहिने उनी बताउँछन्।

‘सबै ठूलो व्यवसाय चल्ने भनेकै बैंककै ऋणबाट हो,’ उनले भने, ‘आफूसँग सीप र अलिकति पैसा छ भने बाँकी पैसा बैंकबाट थपेर गर्ने हो।’

शर्माका अनुसार उनीहरुले सञ्चालन गरेको ढलाइ उद्योग नेपालकै सबैभन्दा ठूलो हो। जसले फलाम पगालेर मेसिनको पार्टस् बनाउँछ। यस्तो कामका लागि भारत जानुपर्ने अवस्था थियो।

तर, मेटल कास्टले नेपालकै ठूलो प्लान्ट बनाएपछि भने यी काम स्वदेशमै भइरहेको निश्चलले बताए।

७० वर्षे नारायण शर्माले अहिले अर्को ठूलो प्लान्ट पनि स्थापना गरेका छन्। जुन अहिले सञ्चालनमा रहेकोभन्दा तीन गुणा बढी क्षमताको छ। तर, कोरोनाले गर्दा त्यो प्लान्ट चल्न सकेको छैन।

‘नबिल बैंककै सहयोगबाट हामीले यो गर्न सम्भव भएको हो,’ निश्चलले भने, ‘उहाँहरुले तपाईंको काम राम्रो छ, ल गर्नुस् भन्नुभयो।’

बुटबल औद्योगिक क्षेत्रभित्र ८ रोपनी जग्गामा रहेको उनको कारखानालाई २/३ बिघामा विस्तार गर्ने योजना छ।

‘बुटबलमा जग्गा पाउन गाह्रो छ,’ उनी भन्छन, ‘मोतीपुर औद्योगिक क्षेत्र चल्यो भने त्यहाँ जाने योजना छ।’

अहिले उनीहरुले ७५ जनालाई रोजगारी दिएका छन्। नयाँ प्लान्ट सञ्चालन भएपछि थप ७५ जना थपिने छन्।

हार्डवेयरमा जमेका सुर्खेतका लोकेन्द्र
व्यवसाय गर्ने आइडिया र रुचि भएकालाई उद्यमी बनाउन बैंकको ठूलो भूमिका हुन्छ।

सुर्खेत, वीरेन्द्रनगरमा शान्ति स्टोर एन्ड सप्लायर्स सञ्चालन गरिरहेका लोकेन्द्रबहादुर शाहीलाई पनि त्यस्तै लाग्छ।

‘उद्योग व्यवसायको लागि फाइनान्सियल सपोर्ट ठूलो कुरा हो,’ शाहीले भने, ‘जसले गर्दा उद्यमीले राम्रो प्रतिफल निकाल्न सक्छन्।’

उनले चार वर्षअघि नबिल बैंकबाट २ करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए। जसको प्रयोग गरेर हार्डवेयर व्यापार गरिरहेका छन्। २०६९ सालबाट व्यवसाय सुरु गरेका उनले जस्तापाता, डन्डी, छड, पाइप, फिटिङका सबै सामान बेच्छन्।

‘बैंकसँग सहयोग लिएपछि व्यापार विस्तार गर्न सहयोग भएको छ,’ उनले भने, ‘यो व्यापारबाट ७ जनाले रोजगारी पाएका छन्।’

पहिला सीजी सिमेन्टको डिलरसिप लिएका उनी अहिले भूगर्भ सिमेन्टको त्यस क्षेत्रको आधिकारिक बिक्रेता बनेका छन्।

कृषिमा उत्कृष्ट काम गरिरहेका पोखराका दीपक
जानकी एग्रो फार्म चलाइरहेका पोखराका दीपक तिमिल्सिनाले नेपालको परम्परागत उत्पादनहरुलाई ‘ब्रान्डिङ’ गरिरहेका छन्। त्यति मात्र होइन, उनले पशुपालन क्षेत्रमा उत्कृष्ट काम गरेर पुरस्कार समेत पाइसकेका छन्।

उनले पाएको यो सफलतामा नबिल बैंकबाट लिएको ऋणले भरथेग गरेको छ। १२ वर्षदेखि नबिलको साथ पाएका तिमिल्सिनाले मौलिक उत्पादनको ब्रान्डिङ पनि थालेका छन्।

‘नेपालका मौलिक उत्पादनहरुलाई प्रशोधन गरेर त्यसलाई ब्रान्डिङ गर्दै बजारीकरण गरिरहको छु,’ उनी भन्छन्, ‘यसले कर्णाली जस्ता ठाउँमा उत्पादन भएका वस्तुले बजार पाएको छ।’ 

२०६४ सालमा पहिलो पटक १५ लाख ऋण लिएका उनको ऋण अहिले झण्डै ८ करोड पुगेको छ।

जानकी एग्रो फार्मबाट उनले कोदोको पिठो, फापरको पिठो, मकै र गहुँको च्याँख्ला, मुस्ताङको दाल, बोडी, राजमा, भटमास, गुन्द्रुक, कर्कलो, पोखरेली चामल, सिलाम, जौ, गहुँ, सिस्नुजस्ता उत्पादनलाई बजारीकरण गरिरहेका छन्। एग्रो पोडक्टमा २० प्रतिशत बैंकको सहयोग छ।

त्यस्तै, उनले बी जानकी फार्म पनि सञ्चालन गरिरहेका छन्। यसअन्तर्गत साढे तीन सय गाई र भैँसी पालिरहेका छन्। यसको लागि चाहिने पूर्वाधारदेखि भैँसी किन्न लाग्ने लगानीमध्ये नबिल बैंकले ५० प्रतिशत फाइनान्स गरेको छ।

दुवै क्षेत्रमा उनले सयभन्दा बढीलाई रोजगारी दिएका छन्। कृषि क्षेत्रमा राम्रो काम गरेको भनेर उनले २०७४ सालमा राष्ट्रपति पुरस्कारसमेत पाएका छन्। उनी अन्तर्राष्ट्रिय युवा पुरस्कारबाट पनि सम्मानित भएका छन्।

‘नबिल बैंकले उत्पादन मूल्य क्षेत्रमा राम्रो कर्जा प्रवाह गरेको छ,’ तिमिल्सिनाले भने, ‘कृषिजस्तो क्षेत्रमा बैंकले लगानी बढाउनु राम्रो पक्ष हो।’

व्यापारमा जमेका काठमाडौंका महेन्द्र
नबिल बैंकले विभिन्न क्षेत्रमा लगानी गरेको छ। त्यसमध्येको एक हो व्यापार। बैंकको सहयोग पाएर व्यापारमा राम्रो काम गरिरहेका मध्ये एक हुन् काठमाडौंमा उर्जा इन्टरनेसनल चलाइरहेका महेन्द्र पराजुली।

उनले दुई दशकदेखि चीनबाट इलेक्ट्रोनिक्स सामान आयात गरिरहेका छन्। अन्य बैंकबाट ऋण लिएर व्यवसाय गरिरहेका पराजुलीले पछिल्लो पाँच वर्षदेखि भने नबिलसँग सहकार्य गरिरहेका छन्।

उनी इमर्जेन्सी लाइट, मल्टिप्लग, फ्यान, हिटर, मोबाइलका सामग्रीजस्ता दर्जनौं सामान आयात गर्छन्।

उनले ओभरड्राफ्ट लोनको रुपमा २ करोड रुपैयाँ लिएका छन्।

‘नबिल बैंकको सबैभन्दा राम्रो पक्ष भनेको ब्याजको दरलाई तुरुन्तै तलमाथि गर्दैन,’ उनले भने, ‘त्यसले गर्दा ऋणीहरुलाई सजिलो भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad