मेलेम्चीको खानेपानी उपत्यकाका करिब १ लाख १० हजार बढी घरमा वितरण गरिँदै छ।
सुरुङ परीक्षण सुरु भएको मेलम्ची आयोजनाको पहिलो चरणमा १७ करोड लिटर पानी वितरण गर्न लागिएको हो।
सोमबार खानेपानीमन्त्री मणि थापाले सुरुङमा पानी हालेर परीक्षण थालनी गरेका छन्। आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाइएको छ।
गत असारमा पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर एक इन्जिनियर र चालकलाई बगाएको थियो। त्यसपछि विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरी परीक्षण शुरु गरेको हो।
मेलेम्ची खानेपानी अयोजनाले सुरुङको सफल परीक्षणपश्चात् वैशाखसम्म काठमाडौंका घर–घरमा पानि वितरण गर्न सकिने बताएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)का कार्यकारी निर्देशक कमलराज श्रेष्ठले सुन्दरीजलमा आएको पानी उपत्यकामा वितरणको लागि पूर्वाधार तयार भइरहेको बताएका छन्।
निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार भइसकेको जानकारी दिएको छ।
‘मेलेम्चीको खानेपानी १ महिनामै आएपनि हामीले करिब २० हजार घरदुरीमा नयाँ पाइपबाट पानि जान्छ’, पीआईडीका कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘बाँकी ठाउँमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेल)कै पुरानो वितरण प्रणालीबाट पानी पठाउँछौं।’
मेलेम्चीको पानि वितरणको लागि करिब २० अर्ब खर्च भइसकेको श्रेष्ठले बताएका छन्। मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ठुला ट्यांकीमध्ये ९ वटा सम्पन्न भएका छन्। एउटा निर्माणकार्य बाँकी रहेको उनले बताए।
जसअनुसार बाँसबारी, पानीपोखरी, बालाजु,आरुबारी, जगडोल, खुमलटार, कीर्तिपुर, निलबाराहीमा ट्यांकी निर्माण सम्पन्न भएको छ भने कुटुन्जेको बाँकी रहेको छ।
निर्देशनालयले प्रयाप्त पानी नहुँदा ट्यांकी तथा पाइपलाइनको परीक्षण राम्रोसँग गर्न नसकेको बताएको छ। मेलम्चीको पानी पाइपलाइनबाट पठाउँदा चुहावट हुने ठाउँमा मर्मत गदै पानी वितरण गर्ने बताएको छ।
‘करिब १ लाख १० हजार घरधूरीमा नयाँ प्रणालीबाट पानी वितरण गर्ने हो’, श्रेष्ठले भने, ‘नयाँ पाइपलाइन अनामनगर, कोटेश्वर नरेफाँट, दरबारमार्ग, नक्साल, बालाजु चौमतीमा टेस्टीङको काम भैरहेको छ।’
केयुकेलको खानेपानी वितरणको पाइपलाइन पुरानो भैसकेको छ। नयाँ पाइपलाइन विच्छाउनु पर्ने बाध्यता रहेको छ। पुरानो प्रणालीको कारण ३० देखी ४० प्रतिशत पानी चुहावट भैरहेको छ।
‘१ लाख १० हजार घरधुरी मध्ये अहिले २० हजारले नयाँ प्रणालीबाट पानी पाउँछन्’, उनले भने, ‘अहिले पुरानो पाइपलाइनबाट पानी वितरण गरेपनि नयाँ पाइपलाइन विस्तार गर्नुको विकल्प छैन’
उनले १ वर्षभित्र नयाँ प्राणालीको निर्माण कार्य सकिने बताएका छन्।
एसियाली विकास बैंकको सहुलियत ऋणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो चरणमा पानी ट्यांकी तथा थोक र वितरण पाइपलाइन बिछ्याउने कार्य भइरहेको छ।
मेलम्चीको पहिलो चरणमा दैनिक १७ करोड लिटर वितरण गर्न पुग्ने गरी पूर्वाधार तयार भए पनि यांग्री र लार्के समेत गरी कूल दैनिक ५१ करोड लिटर पानि वितरणको लागि पूर्वाधार तयार गरिँदै जाने बताएका छन्।
Shares

प्रतिक्रिया