कारोबार


पेट्रोलको मूल्य यसकारण बढ्यो, नेपाल आयल निगमलाई कति छ नाफा?

पेट्रोलको मूल्य यसकारण बढ्यो, नेपाल आयल निगमलाई कति छ नाफा?

नेपालखबर
फागुन १०, २०७७ सोमबार १२:४३,

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा अहिले लगातार बढिरहेको छ। यसै सिलसिलमा आन्दोलन समेत भयो।

नेपाल आयल निगमले पछिल्लो समय केही दिनको अन्तरमै दुईपटक मूल्य बढाएपछि विद्यार्थीहरुले आन्दोलन नै गरे।

 तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा धेरै कुराहरु जोडिएको र अझै घाटा भएको दाबी नेपाल आयल निगमले गरिरहेको छ।

मुख्यतया नेपालको बजार भारतसँग निर्भर रहेकोले त्यहीअनुसार मूल्य परिवर्तन हुने गरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साह बताउँछन्।

उनी भन्छन्, ‘भारतले हरेक १५ दिनमा नयाँ मूल्य पठाउँछ, सोही आधारमा नेपालमा मूल्य तल माथि पर्ने हो।’

भारतमा इन्धनको मूल्यमा दिनहुँ फेरबदल हुने गरेको छ। यसको आधार भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ हो। यसबाहेक यातायात तथा ढुवानी खर्च, केन्द्र सरकारको कर, राज्य सरकारको कर, लेभी र अन्य करको आधारमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुने गरेको छ। भारतमा राज्यअनुसार इन्धनको मूल्य फरक हुने गरेको छ।

भारतमा अहिले इन्धनको मूल्य लगातारजसो बढिरहेको छ। सोमबारको कुरा गर्नुपर्दा भारतीय राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ९०.५८ भारु छ भने डिजल प्रतिलिटर ८०.९७ भारु रहेको छ।

भारतको आर्थिक राजधानी मुम्बईमा पेट्रोलको भाउ ९७ भारु प्रतिलिटर र डिजेल प्रतिलिटर ८८.०६ भारु छ। त्यस्तै, कोलकातामा पेट्रोल प्रतिलिटर ९१.७८ भारु र डिजेल ८४.५६ भारु प्रतिलिटर छ भने चेन्नईमा पेट्रोल ९२.५९ भारु प्रतिलिटर र डिजेल ८५.९८ भारु प्रतिलिटर रहेको छ।

गत शनिबारसम्म लगातार १२ पटकसम्म इन्धनको मूल्य आकाशिएको थियो। भारतका कतिपय स्थानमा त पेट्रोलको मूल्य प्रतिलिटर १०० भारुभन्दा बढीले नाघेको छ। राजस्थान र मध्यप्रदेशमा इन्धनको मूल्य १०० भारु प्रतिलिटर नाघेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो समय महामारीयता बढिरहेको छ। अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट (डब्लुटीआई) सोमबार ५९.५३ अमेरिकी डलर प्रतिब्यारेल मूल्य छ भने बेन्चमार्क क्रुड ६३.३७ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ। भारतमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य घटबढ हुँदा पेट्रोल र डिजेलको मूल्यमा दैनिक फेरबदल पर्छ।

जस अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको प्रभाव भारतमा पर्छ र भारतको मूल्य अनुसार नेपालमा पनि मूल्य बढेको निगमको भनाइ छ।

नेपाल आयल निगमले एक सातामै फागुन ५ गते देखि लागु हुने गरि हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ।

मुल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ पुगेको हो।

यसअघि अर्थात् माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो।

१५/१५ दिनमा भारतनले नयाँ मूल्य पठाउने र त्यहीअनुसार मूल्य बढ्ने नियम रहेको निगमले भन्दै गर्दा पनि किन एक हप्तामा नै मूलय बढाएको भन्ने प्रश्न अहिले निगम माथि रहेको छ।

यसमा भने निमित्त नायव कार्यकारी निर्देशक शाह भन्छन्, ‘मूल्य बढाउनको लागि भारतले पठाएको मूल्यलाई छलफलमा राखि निगमको संचालक समितिले निर्णय गर्नुपर्ने हुन्छ। अघिल्लो पटक नै पठाएको मूल्यबारे सञ्चालक समितिमा छलफल हुन नसकेको र सञ्चालक समितिको बैठक ढिलो बस्दा एकै हप्तामा दुई पटक मूल्य बढाउनुपरेको हो। ’

यसरी मूल्य बढाए पनि अझै पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा र डिजेलमा ४ रुपैयाँ १३ पैसा घाटा रहेको निगमको भनाइ छ।

निगमले भारतसँग कतिमा किन्छ, निगमले कति फाइदा लिने गरेको छ?
इण्डियन आयल कर्पोरेसनसँग नेपाल आयल निगमले हाल पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसा र डिजेल ५५ रुपैयाँ १६ पैसामा खरिद गरिरहेको छ। त्यसमा सरकारले कर नै पेट्रोलमा ५४ रुपैयाँ ९८ पैसा र डिजेलमा ३७ रुपैयाँ ६५ पैसा लगाउँछ।

ढुवानी भाठा तथा बीमा शुल्क पेट्रोलमा ४ रुपैयाँ ६४ पैसा र डिजेलमा ३ रुपैंया ४९ पैसा लाग्ने गर्छ।

निगमको प्रशासचिक खर्चमा पेट्रोल तथा डिजेलमा ९४ पैसा लाग्ने गराएको छ।

प्रज्वलनशील पदार्थ भएकोले प्राविधिक नोक्सानी पेट्रोलमा ८ पैसा र डिजेलमा ४६ पैसा बराबरको हुने गरेको छ। त्यस्तै डिलर कमिसनको लागि पेट्रोलमा ४ रुपैयाँ ४९ पैसा र डिजेलमा ३ रुपैयाँ ४३ पैसा हुने गरेको छ।

यी खर्चहरु जोड्दा अहिले प्रतिलिटर पेट्रोलमा ५ रुपैंया ८२ पैसा र डिजेलमा ४ रुपैया १३ पैसा घाटा रहेको निमित्त नायव कार्यकारी निर्देशक शाह बताउँछन्।

उनी भन्छन्, ‘निगमको यो पारदर्शी व्यवस्थाको कारणले नै मूल्य धेरै बढाएको बारेमा हल्ला हुने गरेको हो। आम उपभोक्तालाई मूल्य बढ्दा असर त गर्छ। तर करको व्यवस्था अन्तर्राष्ट्रिय बजारभाउको कारण निगम मूल्य बढाउन बाध्य भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad