प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुंगा-नौविसे सुरुङमार्गको निरीक्षण गरेका छन्।
आइतबार नागढुङ्गाको दहचोक टुटेपाखा स्थित सुरुङमार्ग निर्माणधिन स्थलमा पुगेर अवलोकन गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए। उनले अबको १३ महिना भित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइराखेको समेत बताए।
सुरुङमार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए।
सो अवसरमा मन्त्री नेम्बाङ्ले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भएपनि अहिले सम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गति अनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए।
नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ। सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो। तर सुरुङ खन्ने काम भने गत पुसदेखि शुरु भएको थियो।
दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ।

प्रतिक्रिया