नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा काठमाडौंमा वाटर एटीएम सञ्चालनमा आएको छ।
बिहीबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरेका हुन्। पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्चालनमा आएको छ।
वाटर एटीएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ। वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ। प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ। यो वाटर एटीएमलाई ३ महिनासम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिनापछि बोर्डलाई हस्तान्तरण गरिने छ।
यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ। एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ। काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने जानकारी दिए।
काठमाडौंमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आम सर्वसाधारणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ।
एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा सञ्चालन गर्ने तयारी गरिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्चालनमा ल्याईने वाटर एटीएमको लागत २ करोड रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया