चालू आर्थिक वर्षको छ महिनामा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकअनुसार उक्त दरले बढेर रेमिट्यान्स ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।

प्रतिक्रिया