कारोबार


‘कृषिमा विदेशी लगानी भित्र्याउने नीतिले साना किसान मर्कामा’

‘कृषिमा विदेशी लगानी भित्र्याउने नीतिले साना किसान मर्कामा’

नेपालखबर
माघ २६, २०७७ सोमबार १०:११,

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा साना किसानहरुलाई मर्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मर्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए। सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्र्याउँदा नेपालको पुरै कृषि क्षेत्र विदेशीलाई हस्तान्तरण गरेजस्तै हुने उनको भनाई छ। सरकारले ऐन बनाउँदा विशेष ध्यान पुर्‍याउनुपर्ने उनले बताए।

यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्राउनु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताए। जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पुर्‍याउनुपर्ने उनको भनाई छ।

डेरी उद्योग संघका महासचिव प्रल्हाद दाहाल राज्यले पहिले नेपालका किसानलाई प्रतिस्पर्धी हुनसक्ने बनाउनुपर्ने बताउँछन्। त्यसपछि मात्रै विदेशी लगानी भित्राउनुपर्ने उनको धारणा छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको बताउँछन्। ५० करोड भन्दा बढी लगानी गर्ने तथा आफैले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्राइने उनले बताए। विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनले बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. प्रेम नारायण कंडेलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताउँछन्। किसान र नीजि क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धि बनाउने पनि उनको भनाई छ।

अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad