ad ad

कारोबार


देश लोडसेडिङमुक्त भयो, अब अर्को देशलाई बिजुली बेच्छौं : प्रधानमन्त्री ओली

देश लोडसेडिङमुक्त भयो, अब अर्को देशलाई बिजुली बेच्छौं : प्रधानमन्त्री ओली

शैलेन्द्र महतो
माघ १९, २०७७ सोमबार ९:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीले झ्याप्प बत्ती जानु लोडसेडिङ नभएको दावी गरेका छन्।

धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय केभी सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कहिलेकाही झ्याप्प बिजुली जानु मात्र प्राविधिक गडबडी भएको तर्क गरे।

‘कुनै कारणबस झ्याप्प बिजुली जानु लोडसेडिङ होइन। यो प्राविधिक समस्या हो’ उनले भने ‘सिस्टम अहिले बलियो भइसकेको छैन। बिस्तारै सुधार हुँदैछ।’

प्रधानमन्त्री ओलीले आफ्नै पालोमा देश लोडसेडिङ मुक्त भएको दावी गरे। उनले अब देशलाई बिजुली किन्नु नपर्ने बताउँदै छिमेक देश भारत, बंगलादेश लगायतका देशलाई विद्युत् बेच्ने बताए।

केही दिनअघि पशुपतिनाथमा पूजाको क्रममा १०१ किलो सुनको जलप लगाउने प्रसंगको कुरा उठाउँदै प्रधानमन्त्री ओलीले त्यसको नकारात्मक प्रचार गरी आफूलाई संस्कार बिगारेको भन्दै दुस्प्रचार गरिएको बताए।

‘करोडौं हिन्दुको आस्थाको केन्द्रमा चाँदीको साटो सुनको जलप हाल्नु राम्रो हो नि! तर, मलाई संस्कार बिगार्यो भन्ने दुस्प्रचार गर्दै छन्’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने ‘मैले संस्कार बिगार्यो भन्नेलाई सोध्न चाहन्छु, तपाईंको बुबा हलो जोत्नु हुन्थ्यो। तपाईंहरु पत्रकार किन बन्नु भो, विद्वान किन बन्नु भो, प्रोफेसर किन बन्नु भो?’

उनले आफ्नो बुबा पनि हलो जोत्ने भएको प्रसंग उठाउँदै आफू प्रधानमन्त्री बनेको र पछौटेपन जस्ता परम्परालाई ढाल्दै अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले आफू दोस्रो किड्नी फेर्दा पार्टी भित्रैका केहि नेता मर्छ कि भन्ने आश लगाएर बसेको, तर आफू बाँचेपछि प्रधानमन्त्री बन्न पाइन्न भनेर पार्टी छाडेर गएको तर्क गरे। उनले मर्ने बेला कमिलाको प्वाँख पलाउने गरेको टुक्का प्रयोग गर्दै छुट्टिएर जानेको दिन समाप्त हुने बताए।

प्रधानमन्त्री ओलीले आफूलाई मधेश विरोधी भनेर दुस्प्रचार गर्नेलाई पिछडिएका दलित डुमका छोरा, चमारका छोरालाई काँधमा बोकेर हिड्न चुनौती दिए। आफ्नै पालोमा ढल्केबर–जनकपुर चिप्लो सडक, ढल निकास, रेल लगायत थुप्रै विकास गरेको उनको दावी छ।

अब चाँडै पूर्वपश्चिम रेल गुड्ने, ठूला सिंचाइका योजना सुनकोसी मरिन डाइभर्सन जस्ता ठूला योजनाको शिलान्यास गरि बनाउने बताए। अब चाँडै तराई मधेश सिंचित भइ कृषिमा फड्को मार्ने प्रधानमन्त्रीको भनाइ थियो।

कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलि महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको उपस्थिति थियो।

नेपालको सबैभन्दा ठूलो सवस्टेसन उद्घाटन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .