कारोबार


काठमाडौं विश्वविद्यालयमा सुपरकम्प्युटरले गर्दै छ कोरोनाको औषधिबारे अनुसन्धान

काठमाडौं विश्वविद्यालयमा सुपरकम्प्युटरले गर्दै छ कोरोनाको औषधिबारे अनुसन्धान

सन्तोष न्यौपाने
माघ १५, २०७७ बिहिबार १२:१३,

विकसित देशहरुले डिजिटल प्रविधि प्रयोग गरेर ठुल्ठुला इन्जिनियरिङको काम, औषधिको खोज, भूकम्पको अनुसन्धान, ठूला कृषि फार्मको सजिलै व्यवस्थापनजस्ता कैयौँ कामलाई छिटोछरितो गरेर औद्योगिक क्रान्ति गरे।

हाम्रो देशमा पनि यस्तै काम हुनसके मुलुकको विकास कति छिटो हुन्थ्यो होला! यो चाहना पूरा हुन केही समय लाग्ला तर सुपरकम्प्युटर सेन्टर काठमाडौं विश्वविद्यालयले यस्तै काम गरिरहेको छ।

साढे दुई वर्षअघि नेपाल भित्रिएको सुपरकम्प्युटरको प्रयोग गरेर यस्तै किसिमका अध्ययन र अनुसन्धान भइरहेका छन्। ६ महिनादेखि एक वर्ष लाग्ने, ठूलो जनशक्ति लाग्ने वा गुणस्तरीय हुन नसकेका काम दुई/चार दिनमै छिटोछरितो रुपमा भइरहेका छन्।

काठमाडौं विश्वविद्यालयको सक्रियतामा नेपालमा पहिलोपटक ल्याइएको सुपरकम्प्युटरलाई प्रयोग गरेर विभिन्न किसिमका अध्ययन, अनुसन्धान, तालिमको काम भइरहेको सुपरकम्प्युटर सञ्चालनमा स्वयंसेवकका रुपमा काम गरिरहेका विश्वविद्यालयमा भौतिक विभागमा उपप्राध्यापकको रुपमा कार्यरत डा. राजेन्द्र अधिकारीले बताए। अधिकारीको नेतृत्वमा यस सुपरकम्प्युटरको प्रयोगलाई विस्तार गर्न सकिन्छ भनेर स्वयंसेवक टिम बनाएका छन्।

‘यस कम्प्युटरलाई नेपालमा ल्याएपछि यसको क्षमता वृद्धि गर्दै विभिन्न अध्ययन र अनुसन्धानको काम गरिरहेका छौँ’, अधिकारीले भने, ‘अहिले मुख्य गरी वैज्ञानिक अनुसन्धान, इन्जिनियरिङ र तालिमहरुमा केन्द्रित गरेका छौँ।’

अहिले यो कम्प्युटर मुख्यगरी औषधि अनुसन्धान, ड्रोन इमेज प्रोसेसिङ, कृषिबाली उत्पादन र अनुगमन, इन्जिनियरिङ सर्भे र तालिमको लागि प्रयोग भइरहेको छ। सुपरकम्प्युटरको प्रयोग गरेर कोभिड–१९ सहित विभिन्न रोगका औषधिको अनुसन्धान भइरहेको उनले जानकारी दिए।

वनस्पतिजन्य औषधिहरुजस्तो जटामसी, तुलसी, निमजस्ता गाउँघरका वनस्पतिले कस्ता कस्ता रोगहरुको उपचार गर्न सकिन्छ भनेर यसको वैज्ञानिक खोजी गर्न सुपरकम्प्युटरको प्रयोग भइरहेको अधिकारीले बताए।

काठमाडौं विश्वविद्यालय बायोटेक डिपार्टमेन्ट, फार्मेसी डिपार्टमेन्ट र त्रिभुवन विश्वविद्यालयको बायोेटेक डिपार्टमेन्ट मिलेर काम गरिरहेका छन्। अधिकारी आफैँ पनि यस अनुसन्धानमा संलग्न छन्।

यस अनुसन्धानमा विशेषखालका रसायनहरुको पहिचान गर्ने, त्यो रसायन शरीरमा रहेका रोगसँग लड्ने प्रोटिनहरुलाई बढाउँछ वा घटाउँछ भन्ने अनुसन्धान गर्न सकिन्छ।

‘यो काम सामान्य कम्प्युटरबाट एउटा क्याल्कुलेसन गर्न ६ महिनादेखि एक वर्षसम्म लाग्छ’, अधिकारीले भने, ‘यो सुपरकम्प्युटरले ३ दिनमै गर्न सकिन्छ।’

सुपरकम्प्युटरको प्रयोग गरी कोभिड संक्रमणको उचित व्यवस्थापनको लागि यससम्बन्धी तथ्यांकहरुको संकलन र विश्लेषणको काम धुलिखेल अस्पतालका डाक्टर विराट कर्माचार्यको पहलमा भइरहेको छ।

अस्पतालले कोरोनासम्बन्धी विभिन्न तथ्यांक यसमा डेटाबेस बनाएर भविष्यको लागि थप काम गर्न सकिने गरी काम गरिरहेको छ। यसमा बिरामीको पूर्ण विवरण राखिएको छ जसले गर्दा भविष्यमा यस्ता महामारीको राम्रो पूर्वतयारी हुनसक्नेछ।

यस्तै काम गर्न भनेर वाग्मती प्रदेशले पनि परियोजना अगाडि बढाएको छ। वाग्मती प्रदेशको सामाजिक कल्याण मन्त्रालयसँग मिलेर यस प्रदेशको तराईदेखि हिमालसम्म पाइने जडीबुटीहरुको अध्ययन र डेटा संकलन भइरहेको छ।

यी जडीबुटीको प्रयोगले कोडिड १९, मधुमेह, क्यान्सरलगायतका रोगहरुमा कुन औषधि उपयोगी हुँदो रहेछ भनेर त्यसको स्क्रिनिङ गर्ने काम गरिरहेको अधिकारीले बताए।

यस्तो खालको अनुसन्धान पनि यस कम्प्युटरबाट गर्न सकिँदो रहेछ भनेर प्रमाणित भइसकेको अधिकारी बताउँछन्। वाग्मती प्रदेशले औषधिजन्य जडीबुटीको ‘डेटाबेस’ पनि बनाउँदै छ।

अर्को महत्वपूर्ण काम भनेको भुइँचालोसम्बन्धी अनुसन्धान हो। जिओलोजिकल सोसाइटी अफ नेपाल र खानी तथा भूगर्भ विभागको अगुवाइमा नेपाल भुइँचालोको जोखिमका बारेमा अध्ययन भइरहेको छ।

नेपाल भूकम्पीय क्षेत्रमा रहेकोले यहाँको भुइँचालोको जोखिम विश्लेषण पनि यो कम्प्युटर ल्याउनुको मुख्य उद्देश्य थियो। भूकम्पीय ‘हाजर्ड’ म्याप बनाउने, यसको जोखिम विश्लेषण भुइँचालो गयो भने कति क्षेत्रमा क्षति पुर्‍याउँछ भनेर जोखिम मूल्यांकन गर्ने काम यस कम्प्युटरबाट भइरहेको छ।

कुनै पनि टनेलहरुको डिजाइन, हाइड्रोपावरको टर्बाइनहरुको डिजाइन, उड टर्बाइन ब्लेडहरुको डिजाइन कसरी गर्ने भनेर यसको प्रयोग भइरहेको छ।

त्यस्तै, मुलुकको मौसम पूर्वानुमानको लागि महिना दिनसम्मको डेटा केलाउनुपर्ने हुन्छ। यसको प्रयोग गरेर उत्पत्ति, मौसम भविष्यवाणी कस्तो होला भनेर डाटा केलाउने काम यस कम्प्युटरबाट भइरहेको छ। यहाँको हावाको गुणस्तर कस्तो छ भनेर ‘न्युमेरिकल वेदर फोरकाष्ट’को काम भइरहेको छ। यसमा वातावरण इन्जिनियरहरुले काम गरिरहेका छन्।

काठमाडौैं उपत्यकामा वातावरण प्रदूषण व्यापक छ। हावाको गुणस्तर मापन र प्रदूषणको भविष्यवाणी गर्ने काम पनि यसबाट भइरहेको छ।

त्यस्तै, अहिले मुलुकमा प्रयोग भइरहेको प्रविधिबाट कुनै पनि जलविद्युत् आयोजना निर्माणको लागि गरिने सर्भेको लागि ठूलो जनशक्ति चाहिने, धेरै समय लाग्ने र काम पनि भनेअनुसार नहुने समस्या छ। यसलाई पनि सुपरकम्प्युटरले समाधान गर्दै छ।

काठमाडौं जिओम्याटिक डिमार्टमेन्ट, सिभिल र अन्य इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरुले त्यस्ता सर्भेको लागि ‘इमेज प्रोसेसिङ’को काम यसैबाट गरिरहेका छन्।

यसको लागि विकट क्षेत्रमा हुने जलविद्युत् आयोजनाको ठूलो क्षेत्रफलमा ड्रोनको सहायताले आकाशबाट केही स्क्वायर किलोमिटर ओगट्ने गरी चार/पाँच हजार फोटो खिचिन्छ।

ती फोटोहरुलाई तत्कालै फिल्डबाटै वा पछि सुपरकम्प्युटरमा प्रयोग गरेर ती हजारौँ फोटोको त्रिआयामिक (थ्रि डाइमेन्सनल) बनाउने काम एकै छिनमा हुन्छ। ती कम्प्युटरलाई सजिलै प्रोसेसिङ गर्न सकिन्छ।

जसलाई सुपरकम्प्युटरले प्रोसेस गरेको फोटोहरु हेर्दा त्यहाँ उक्त ठाउँ नै पुगेको अनुभव हुन्छ। धेरै जनशक्ति र धेरै खर्च लाग्ने परम्परागत सर्भेहरुको सट्टा अहिले एक जनाले पनि यो काम गर्न सकिने भएको छ। इमेजको गुणस्तर यति उच्च हुन्छ कि पहाडको सानो ढुंगालाई पनि स्पष्ट देख्न सकिन्छ।

ती सबै विवरण पाएपछि इन्जिनियरले कम्प्युटरमा बसेर सबै काम गर्न सक्छन्।

त्यस्तै अहिले यसको प्रयोग गरेर भइरहेको अर्को महत्वपूर्ण काम हो कृषि क्षेत्रको अनुगमन। ठूलो क्षेत्रफलमा लगाइएको बालीनालीमा यस्तै फोटो खिचेर सम्पूर्ण विवरण लिन सकिने भएको छ।

जस्तो कि तराईको केराबारीमा ड्रोनबाट फोटो र त्यसलाई सुपर कम्प्युटरबाट प्रोसेसिङ गरेपछि केरा कति बढेको छ, पातको फैलावट कस्तो छ, बुंगो हाल्यो कि हालेन, त्यो क्षेत्रफलमा कति केरा छन्, कुनै ठाउँमा बालीमा किरा लागेको छ कि भन्ने तथ्यांक कोठामै बसेर निकाल्न सकिन्छ। सय बिघा क्षेत्रफलमा छ भने पनि सबै रिपोर्ट लिन सकिने अधिकारी बताउँछन्।

यस्ता काम गर्ने जोसुकैलाई काठमाडौं विश्वविद्यालयले यस सेवा लिन आग्रह गरेको छ। यो कम्प्युटर नेपाल भित्र्याउनको उद्देश्यमध्ये पनि यसको प्रयोग गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र राष्ट्रिय उत्पादनमा सहयोग गर्ने भन्ने थियो।

यस अवधिमा २ हजार जनाले निःशुल्क यसको तालिम लिइसकेका छन्। इन्टरनेट सेवा प्रदायक सुबिसुले प्रविधि पार्टनरको रुपमा निःशुल्क इन्टरनेट प्रदान गरिरहेको छ। सुपर कम्प्युटरको अपरेटिङ टिममा स्वयंसेवकका रुपमा अधिकारी र काठमाडौं विश्वविद्यालयका विद्यार्थीसहित एक दर्जनको टिम छ।

यी सेवाहरु बढ्दै जाँदा भविष्यमा सरकारी तहबाट पनि सहयोग चाहिने अधिकारी बताउँछन्। जस्तो यसको हार्डवेयर विस्तारको लागि सरकारको सहयोग चाहिन्छ। सेवा दिँदै जाँदा यसको रिसोर्स सीमित हुँदै जान्छ।

के हो सुपरकम्प्युटर?
यो साढे दुई वर्षअघि काठमाडौं विश्वविद्यालयको पहलमा पहिलो पटक नेपालमा सुपरकम्प्युटर ल्याइएको हो।

स्विट्जरल्याण्ड जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर न्युक्लियर फिजिक्स (सीईआरएन) ले यो कम्प्युटर काठमाडौंं विश्वविद्यालयलाई उपहारका रुपमा दिएको थियो।

सर्नले ‘एस्ट्रो फिजिक्स’मा बिगब्याङ थिअरीको रिसर्चको लागि यो कम्प्युटर केही समय प्रयोग गरेका थियो।

यो कम्प्युटरमा साढे ७ टेराबाइट र्‍याम र साढे १.५ पेटाबाइट स्टोरेज क्षमता छ। यसमा १८४ वटा कम्प्युटर नोड, १६ वटा डिस्क नोड, १२ वटा स्विचहरु र २ वटा ग्राफिक्स प्रोसेसिङ नोडहरु छन्।

यसले एकै समयमा धैरै समस्या लिनसक्ने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्छ। साथै, सामान्य खालका २ हजारभन्दा बढी कम्प्युटरले गर्ने काम यसले एकै पटकमा गर्न सक्छ।

काठमाडौं विश्वविद्यालयमा रहेको सुपरकम्प्युटर अन्तर्राष्ट्रिय मान्यताअनुसारको सञ्चालन र व्यवस्थापन गरिएको छ। यो अब विश्वविद्यालयको एक मुख्य शाखाको रुपमा स्थापित भइसकेको अधिकारी बताउँछन्।

उपकुलपति प्रमुख संरक्षक र रजिष्ट्रार संरक्षक भएको यो सुपरकम्प्युटर केन्द्र विश्वविद्यालयको एक मुख्य शाखाको रुपमा स्थापित भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad