सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको हो।
साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७५-७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँमा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश सेयर तथा उक्त बोनश सेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजारमा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ।
साधारण सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेश कुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया