कारोबार


भारतको टकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन प्राधिकरणले पायो अनुमति

भारतको टकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन प्राधिकरणले पायो अनुमति

नेपालखबर
पुस २५, २०७७ शनिबार ८:१०,

नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो। विद्युत प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो।

सीईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबार ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ। नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ।

‘टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौं, भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी—मार्च र जुलाई—डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं’, कामु कार्यकारी निर्देशक शाक्यले भने, ‘प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत् पठाउन सकिरहेका थिएनौँ, टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बिहारबाट महँगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिने छ।’

प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो। टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताए। यसबाट मुलककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उनले बताए।

केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत आयात गर्न सकिने छ। यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुनेछ।

प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ। पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ। खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ।

विद्युत आपूर्ति सुधार गर्न निर्देशन
प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन, विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

शाक्यले बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षणका थिए।

भैरहवा क्षेत्रका उद्योगीहरुले विद्युत्को गुणस्तरीयता र पर्याप्त विद्युत् आपूर्ति नपाएको गुनासो बारम्बार गरिरहेको उल्लेख गर्दै उनले पर्याप्त र भरपर्दो विद्युत आपूर्ति हुने गरी नयाँ संरचना बनाउन, भइरहेको संरचनाको नियमित मर्मतसम्भार गर्न र चालू योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad