कारोबार


ललितपुरले २०० जनालाई साइकल खरिदका लागि सहयोग गर्ने

ललितपुरले २०० जनालाई साइकल खरिदका लागि सहयोग गर्ने

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ११:१०,

ललितपुर महानगरपालिकाले साइकल चलाउन इच्छा भएका तर साइकल नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएको छ।

साइकल यात्रीलाई प्रोत्साहन गर्ने सम्बन्धमा आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) का आवासीय प्रतिनिधि आसानी मेदागन्गोडाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकालाई स्मार्ट शहर बनाउने योजनानुरुप मोबाइल एप्समार्फत साइकल प्रयोगकर्तालाई प्रोत्साहन गरिने बताए। उनले भने, ‘साइकल चलाउन इच्छुक तर खरीद गर्ने क्षमता नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएका छौँ। महानगरपालिकाको वातावरण सुधारका लागि बढी समय साइकल प्रयोग गर्ने व्यक्तिको पहिचान गरी उपहारको व्यवस्थासमेत गर्नेछ।’

महानगरपालिकाले ‘ग्रीन गेम’ नामक परियोजनामार्फत विभिन्न ठाउँमा हरियाली प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउने उनको भनाइ छ।

युएनडिपीका प्रतिनिधि मेदागन्गोडाले सो अभियानले साइकल चलाउन रुचि राख्नेलाई प्रेरित गर्ने धारणा राखे।

उनले भने, ‘काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भौगोलिक कठिनाइ हुँदाहुँदै पनि महानगरपालिकाले पहिलो चरणमा लगनखेल, मङ्गलबजार र पुल्चोक हुँदै कुपण्डोलसम्म १० किलोमिटर साइकल लेन बनाएर मुलुकमै उदाहरणीय काम गरेको छ।’

यो अभियानले शहरको वातावरण संरक्षण गर्नुका साथै आउँदो पुस्तालाई सुन्दरता कायम राख्न जिम्मेवार बनाउने विश्वास समेत उनले लिए।

महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले अब बन्ने दोस्रो चरणको साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको बताए।

उनले भने, ‘अब बन्ने लेनका लागि सम्बन्धित निकायसँग समेत छलफल भइसकेको छ।’

साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुपै चुनौती रहेको बताउँदै महानगरपालिकाले दोस्रो चरणअन्तर्गत अब २२ किलोमिटर लेन निर्माणको काम अघि बढाइने भएको जानकारी गराए। साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले वर्तमान समयमा वायु प्रदूषण बढिरहेको हुँदा साइकल प्रयोगकर्ता बढाउनसके मानव स्वास्थ्य जोखिममुक्त हुने विचार व्यत्तः गरे।

कार्यक्रममा महानगरपालिकाले साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत रु ५० लाख र २०७६/०७७ को बजेटमा पनि ५० लाख छुट्याएर काम गरिरहेको जनाइएको छ। महानगरपालिकाले साइकल लेन बनाउँदासमेत साइकल ऐन भने हालसम्म बनाउन सकेको छैन।

यसैगरी महानगरपालिकाले एशियन विकास बैंक (एडीबी) को रु ५४ करोड आर्थिक सहयोगमा वाग्मती नदी, शङ्खमूल, कुम्भेश्वर, महापाल, कुमारीपाटी, मंगलबजार, टंगाल र लगनखेलसम्म ट्रंक लाइन परियोजना अर्थात् भूमिगत तवरबाट बिजुली र टेलिफोनको तार, ढल र खानेपानीको व्यवस्थापन गर्न थालिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad