ad ad

कारोबार


पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न कति सम्भव?

पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न कति सम्भव?

वसन्त अर्याल
पुस २१, २०७७ मंगलबार ११:२७,

वर्षेनी हजारौँ गाडी २० वर्षको हदम्याद सकिएको कारण कवाडीको रुपमा थन्किन्छन्। तर अधिकांश यस्ता गाडीको ‘कन्डिसन’ बिग्रिएको हुँदैन।

पछिल्लो समय यातायात व्यवसायीसँगै विज्ञहरुले २० वर्ष हदम्याद पुगेर पनि राम्रो अवस्थामा भएका गाडीलाई विद्युतीय बनाउने व्यवस्था गर्नुपर्ने माग सुरु गरेका छन्।

कलंकी, बौद्ध, गुर्जुधारामा निलो माइक्रो सञ्चालन गर्दै आएका व्यवसायीले २० वर्ष पुगेका गाडीलाई विद्युतीयकरण गर्न पाउनुपर्ने बताउँदै आएका छन्।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्षभन्दा पुराना सवारीसाधनलाई २ वर्षभित्र विस्थापन गर्ने निर्णय गरेको थियो। यसअनुसार कालो र हरियो नम्बरप्लेटका सबै गाडीमा २० वर्षे हदम्याद लाग्ने र कालो नम्बर प्लेटका विद्युतीय माध्यमबाट चल्ने गाडीमा ३० वर्षे हदम्याद लागू भएको थियो।

२०७४ पछि वर्षेनी हजारौं गाडी विस्थापित हुँदै गएका छन्। यातायात कार्यालयहरुले सार्वजनिक यातायातको रुपमा दर्ता हुने सवारीमा २० वर्षे हदम्याद हुने उल्लेख गर्दै २० वर्ष पुगेका गाडीलाई नवीकरण नै बन्द गरेका छन्।

सरकारले निजी सवारीसाधनमा भने २० वर्षे हदम्याद तोकेको छैन। सार्वजनिक यातायातभन्दा कम चल्ने र प्रदूषण कम गर्ने आकलनमा निजीलाई हदम्यादमा नराखिएको हो।

पछिल्लो समय विश्वमा विद्युतीय नयाँ गाडीको उत्पादनसँगै पुराना गाडीलाई विद्युतीय बनाउने गरिएको छ। वातावरण प्रदूषण कम गर्न इन्धनका गाडीलाई विद्युतीयकरणमा रुपान्तरण गर्न सुरु गरिएको छ।

नेपालमा पनि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले इन्धनका गाडीलाई विद्युतीय बनाउने भन्दै अध्ययन थालेको थियो। केन्द्रले सस्तो मूल्यमै इन्धनका गाडी विद्युतीय बनाउनसक्ने बताएको छ।

आविष्कार केन्द्रले इन्धनका गाडी विद्युतीयकरण गर्न चीनबाट सामग्री समेत मगाएको छ।

‘लकडाउनअघि चीनबाट मगाएको सामग्री अझै ल्याउन सकिएको छैन। सामान आउनेबित्तिकै काम हुन्छ’, आविष्कार केन्द्रका अध्यक्ष पुनले भने, ‘केरुङको नाकामा एउटा सामान ७ महिनादेखि अड्किएको थियो, आजमात्रै छुटेको जानकारी पाएको छु। त्यो सामान आएसँगै हाम्रो काम सुरु हुन्छ।’

पुनले मेकानिक्सले उक्त काम सजिलै गर्नसक्ने बताए। यो प्रोजेक्ट सफल भयो भने २० वर्ष पुराना अत्यधिक प्रदूषण गर्ने गाडीलाई सजिलै विद्युतीय बनाउन सकिने उनको भनाइ छ।

विश्वका अधिकांश देशमा इन्धनबाट विद्युतीयमा रुपान्तरण गर्न सुरु गरेकोले नेपालमा पनि सहजै गर्न सकिने बताउँछन् पुन।

यो पनि –
एकैपटक विस्थापित हुँदै ३ सय निलो माइक्रो, स्वरोजगार व्यवसायीलाई रोजीरोटी खोसिने डर

वातावरण तथा यातायातसम्बन्धी जानकार भूषण तुलाधर इन्धनबाट चल्ने गाडीलाई विद्युतीय बनाउनसके नेपालले धेरै फाइदा लिनसक्ने बताउँछन्।

‘अधिकांश गाडी २० वर्ष पुरानो भएपछि पनि राम्रै अवस्थामा रहेका हुन्छन्। ट्राभल एजेन्सीका गाडी राम्रै अवस्थामा रहेका छन्। तर २० वर्ष पूरा भएर त्यतिकै थन्क्याएर बसेको छ’, तुलाधरले नेपालखबरसँग भने, ‘व्यवसायीलाई नयाँ विद्युतीय गाडी किन्नुभन्दा सस्तो पनि पर्छ। इन्धनको गाडीलाई विद्युतीय बनाउन धेरै समस्या पनि होइन। त्यो नेपालमै गर्न सकिन्छ।’

२० वर्ष पुराना गाडीमा पार्टपुर्जा बिग्रिएर दुर्घटना समेत हुनसक्ने एकथरिले तर्क गर्दै आएका छन्। तर तुलाधर भने राम्रो अवस्थामा भएका गाडीलाई मात्रै विद्युतीयकरण गर्न सकिए दुर्घटना नहुने बताउँछन्।

कानुनीसँगै मापदण्ड आवश्यक
सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयकरण बनाउनेसम्बन्धी कुनै कानुनी व्यवस्था गरेको छैन। अहिले व्यवसायीले मात्रै चाहेर इन्धनका गाडीलाई विद्युतीय बनाउन पाउँदैनन्। त्यसको लागि पहिला नीति बनाउनुपर्ने तुलाधरको भनाइ छ।

‘अहिलेको कानुनअनुसार इन्धनका गाडीलाई विद्युतीय बनाउन पाइँदैन। सरकारले कानुनी ढोका खोलिदिनुपर्छ’, उनले भने, ‘सरकारले कस्ता गाडी विद्युतीयकरण गर्नसक्ने, विद्युतीयकरण गर्दा कस्ता मापदण्ड आवश्यक बनाउने, कति ब्याट्री राख्न पाउने, कस्तो गाडीमा कति किलोवाटको मोटर प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक छ।’

उनले सरकारले इन्धनका गाडीलाई विद्युतीयकरण गर्न प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

‘धेरैलाई इन्धनका गाडी विद्युतीयकरण गर्न सकिन्छ भन्ने थाहा नहुनसक्छ। नेपालमा लाखौं गाडी त्यत्तिकै कवाडी बनाउनुभन्दा विद्युतीयकरण गरेर चलाउनसके धेरै फाइदा हुन्छ’, उनले भने, ‘हाम्रोजस्तो देश जहाँ नयाँ गाडी उत्पादन हुँदैन। भविष्यमा सबैजसो गाडी विद्युतीयमा जाने भएकाले जनशक्ति समेत उत्पादन हुन्छ।’

संघीयता कार्यान्वयनसँगै यातायात कार्यालय प्रदेशमातहत पुगेका छन्। त्यसमा पनि सबैभन्दा बढी सार्वजनिक यातायात वाग्मती प्रदेशमै छन् ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पुराना गाडीको व्यवस्थापन विद्युतीयकरण गर्दा राम्रो हुने बताएको छ।

‘मन्त्रालयले अहिलेसम्म कुनै कानुन त बनाएको छैन’, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले भने, ‘व्यवसायी आफ्नो साधन विद्युतीयकरण गर्न चाहे हामीले रोक्दैनौँ, प्रोत्साहन गर्छौं।’

उनले इन्धनको साधनलाई विद्युतीयकरण गराउने विषयमा मन्त्रालयले छलफल गरी निर्णय गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .