माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समूहको तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सिर्जना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ। साथै बैंकले २२ औँ साधारण सभा समाप्त गरेसँगै आजैको मितिबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फतसेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया