ad ad

कारोबार


एनसेलका एक करोड ग्राहकले बोक्छन् स्मार्टफोन

एनसेलका एक करोड ग्राहकले बोक्छन् स्मार्टफोन

सन्तोष न्यौपाने
मंसिर १६, २०७७ मंगलबार १५:९,

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा झण्डै १ करोड ग्राहकले स्मार्टफोन प्रयोग गरेको पाइएको छ।

यो एनसेलको कुल ग्राहक संख्याको ६४ प्रतिशत रहेको कम्पनीको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनले देखाएको छ।

उक्त विवरणअनुसार हाल एनसेलको कुल ग्राहक संख्या एक करोड ५३ लाख ३१ हजार रहेका छन्। यस हिसाबले हेर्दा कुल ग्राहकमा ९८ लाख ११ हजार ८ सय ४० जनाले स्मार्टफोनको प्रयोग गरेको देखिन्छ।

गत वर्ष सोही अवधिको तुलनामा एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता संख्या २ प्रतिशतले बढेर ६४ प्रतिशत पुगेको हो। 

सन् २०१९ को तेस्रो त्रैमासिकमा ६२ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेका थिए। पछिल्लो वर्षहरुमा स्मार्टफोनका साथै इन्टरनेटको मूल्यमा गिरावटका कारण स्मार्टफोन र डेटा प्रयोग गर्ने उपभोक्ताको संख्या उल्लेख्य रुपमा बढिरहेको छ।

आजियाटाको लगानी रहेको दक्षिण एसियाका अन्य कम्पनीहरु जस्तै बंगलादेशको रोबी र श्रीलंकाको डायलगकै तुलनामा पनि एनसेलमा धेरै स्मार्टफोन प्रगोगकर्ताहरु रहेका छन्। सन् २०२० को तेस्रो त्रैमासिकसम्ममा रोबी ४२ र डायलग ५७ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन्।

त्यस्तै, आजियाटाको लगानी रहेको मलेसियाको सेलकमका ग्राहकमध्ये ८६ प्रतिशत र इन्डोनेसियाको एक्सएलका ८८ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने विवरणमा उल्लेख छ।

Ncell SmartPhone

पाँच वर्षको अवधिमा एनसेलका स्मार्टफोन प्रयोगकर्ता २२ प्रतिशतले वृद्धि भएका छन्। उसको विवरणअनुसार सन् २०१६ मा उसका कुल ग्राहकमध्ये ४२ प्रतिशतले स्मार्टफोन बोक्थे। उक्त संख्या २०१७ मा ५२ प्रतिशत, २०१८ मा ५९ प्रतिशत र सन् २०१९ मा ६२ प्रतिशत हुँदै यो वर्षको तेस्रो त्रैमासिकमा ६४ प्रतिशत पुगेको छ।

एनसेलले मुलुकभर थ्रिजी र मुख्य सहरहरुमा फोरजी सेवा विस्तार गरेको लगायतका कारणहरुले गर्दा एनसेलको नेटवर्कमा स्मार्टफोन प्रयोग गर्नेहरु बढेको एनसेलले जनाएको छ। एनसेलले दिएको विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म एनसेलको फोरजी ५८.१ प्रतिशत र थ्रिजी ५९.४६ प्रतिशत जनसंख्यामा पु¥याएको छ।

कम्पनीका झण्डै ४८.५ प्रतिशत ग्राहकले डेटा सेवा लिएको वित्तीय प्रतिवेदनमा उल्लेख छ। गत वर्षको तेस्रो त्रैमासिकमा एनसेलका ग्राहकमध्ये ४८.२ प्रतिशतले डेटा सेवा लिएका थिए। पछिल्लो विवरणअनुसार एनसेलले कुल आम्दानीको २४ प्रतिशत डेटा दिने गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २३ प्रतिशत थियो।

बढ्दो इन्टरनेट प्रयोगका कारण एनसेलको कुल आयमा डेटाबाट हुने योगदान बढ्दै गएको छ। गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कुल आम्दानीमा डेटाको योगदान २२ प्रतिशत थियो। 

डाटा सेवाको शुल्कमा गिरावट, स्मार्टफोनको मूल्य घट्नुलगायतका कारणले गर्दा डाटा सेवाको माग तथा प्रयोग बढिरहेको तथ्याङ्कहरुले देखाउँछ। जस्तै आजियाटाको त्रैमासिक प्रतिवेदनअनुसार एनसेलको नेटवर्कमा प्रतिग्राहक प्रतिमहिना इन्टरनेट खपत गत वर्ष सोही अवधिमा ९९२ एमबी थियो भने हाल यो बढेर २३१२ एमबी पुगेको छ।

हाल एनसेलका ४ लाख ९ हजार पोष्टपेड र १ करोड ४९ लाख २२ हजार प्रिपेड ग्राहक रहेका छन्। एनसेलका मुलकभर थ्रिजी बीटीएस टावर ३ हजार २ सय २१ र फोरजी बीटीएस टावर ३ हजार ३ सय २६ रहेका छन्।

स्मार्टफोनको प्रयोग र डाटा खपत बढिरहेको बेला समग्र राजस्वमा भने कमी आएको छ। कोरोना संकटले टेलिकम क्षेत्रको आम्दानीमा गिरावट आएको बेला तेस्रो त्रैमासिक विवरणअनुसार १० अर्ब आम्दानी गरेको छ जब कि गत वर्षको तेस्रो त्रैमासिकमा उक्त आम्दानी १३ अर्ब ५८ करोड रुपैयाँ थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .