ad ad

कारोबार


समूहमा आउने पर्यटकका लागि गन्तव्य क्षेत्र खुल्ला, साहसिक पर्यटनसँगै जंगल सफारी गर्न पाउने

समूहमा आउने पर्यटकका लागि गन्तव्य क्षेत्र खुल्ला, साहसिक पर्यटनसँगै जंगल सफारी गर्न पाउने

वसन्त अर्याल
मंसिर ३, २०७७ बुधबार ७:२०,

कोभिड १९ का कारण लामो समय बन्द भएको पर्यटन क्षेत्र विस्तारै खुकुलो हुँदै गएको छ। सरकारले कोभिड १९ संक्रमण फैलिरहेको अवस्थामा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नयाँ क्षेत्र खुल्ला गरेको हो।

विदेशी पर्यटकलाई कात्तिक १ देखि हिमाल आरोहण र पदयात्रा खुल्ला गरेको सरकारले अब समूहमा आउने पर्यटकलाई साहसिक पर्यटनसँगै जंगल सफारी, हेरिटेज साइट सिनलगायतका क्षेत्रमा पनि घुम्न दिने बताएको छ।

कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटन क्षेत्रका थप गतिविधि खुल्ला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

‘अहिले हिमाल आरोहण र पदयात्रामा बाहेक अरु क्षेत्रका लागि पनि आउन दिने भनेको छ’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमल प्रसाद भट्टराईले भने, ‘सिंगल आएर आफूखुसी भने घुम्न पाउनेछैनन्। ग्रुपमा आउनेलाई अनुमति दिने भनेको छ।’

चैत ११ देखि सबै ठप्प रहेको पर्यटन क्षेत्र साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खुल्ला गर्ने निर्णय गरेको थियो। सरकारले हिमाल आरोहण पनि खुल्ला गरेको थियो तर विदेशी पर्यटकलाई अन अराइभल भिसाको व्यवस्था भने गर्नसकेको थिएन। कात्तिक १ देखि विदेशी पर्यटकलाई समेत हिमाल आरोहण र पदयात्रा खुल्ला गर्दै पूर्वस्वीकृति लिई भिसा दिने व्यवस्था गरेको थियो।

भट्टराईका अनुसार अब नेपाल आउने पर्यटकले ट्राभल एजेन्सीमार्फत नेपाल आएर सबै साहासिक पर्यटन क्षेत्र, जंगल सफारी, हेरिटेज साइट सिनलगायतका गतिविधि पनि गर्न पाउनेछन्।

सहसचिव भट्टराईले नेपालले पर्यटन गतिविधि विस्तारै खुल्ला गर्दै जानलागेको बताए।

‘पहिलेभन्दा अझै खुकुलो बनाउँदै लगेका छौँ। नेपालमा भएका विदेशी पर्यटक नयाँ खुल्ला गरेको ठाउँमा जाने अनुमति पनि पाउँछन्’, उनले भने।

लकडाउनअघि नै आएका केही विदेशी पर्यटन भिसाको म्याद थप गर्दै बसेका छन् भने कात्तिक १ देखि हिमाल आरोहण र पदयात्राका लागि समेत विदेशी पर्यटक नेपाल आएका छन्।

पर्यटन मन्त्रालयका अनुसार हिमाल आरोहण तथा पदयात्राका लागि आएका पर्यटक पनि सरकारले खोलेको नयाँ गन्तव्यमा जान पाउनेछन्। त्यसको लागि ट्राभल एजेन्सीसहित सरकारी निकायसँग समन्वय गर्नुपर्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले केबलकार, साहसिक पर्यटन, जंगल सफारी, संग्रहालयलगायतका पर्यटनसँग सम्बन्धित सेवा सुचारु गर्न स्वीकृत दिएको छ। उक्त सेवा सञ्चालन गर्न सम्बन्धित निकायले मन्त्रालयले तोकेको मापदण्ड पालना हुने गरी सञ्चालनमा ल्याउन सक्नेछन्।

खुल्ला गरिएको सेवामा कोभिड १९ संक्रमणको जोखिम विश्लेषण गरी यस्ता गतिविधिमा रोक लगाउन आवश्यक देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डीसीसीएमीले आवश्यक निर्णय गर्नसक्ने भएको छ।

पर्यटन मन्त्रालयले सेवा प्रदायक संस्थालाई स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न अनुरोध गर्दै मातहतका निकायहरुलाई मापदण्ड पालना भए÷नभएको नियमित अनुगमन गर्न निर्देशन समेत दिएको छ।

पर्यटन व्यवसायी तथा पर्यटनविदले सरकारलाई क्वारेन्टिनको व्यवस्था हटाउँदै पीसीआर नेगेटिभ भएकालाई घुम्न दिन आग्रह गर्दै आएका छन्। अहिले सरकारले विदेशी पर्यटकलाई ७ दिनको होटल क्वारेन्टिनको व्यवस्था गरेको छ। अहिले अन अराइभल भिसा सहजै पाउन मुश्किल रहेको छ।

विदेशी पर्यटकले ट्राभल एजेन्सीमार्फत पदयात्रा अथवा हिमाल आरोहणको लागि पर्यटन विभाग र बोर्डबाट स्वीकृति लिएपछि अध्यागमन विभागले भिसा दिने गरेको छ।

हिमाल आरोहणको स्वीकृति पर्यटन विभागले दिन्छ भने पदयात्राको लागि पर्यटन बोर्डले दिँदै आएका छन्। व्यवसायीहरुले भिसा पहिलेको जस्तै सहजरुपमा पाउने व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .