कारोबार


उपत्यकाका मेयरले छठपछि फेरि लकडाउन गर्न मागेपछि वायुसेवा सञ्चालक संघले जनायो आपत्ति

उपत्यकाका मेयरले छठपछि फेरि लकडाउन गर्न मागेपछि वायुसेवा सञ्चालक संघले जनायो आपत्ति

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ८:४८,

वायुसेवा सञ्चालक संघले ६ महिनाको लकडाउनपछि चलायमान हुँदै गरेको अर्थतन्त्रलाई फेरि लकडाउन गरी शिथिल बनाउनु नहुने बताएको छ।

संघले विज्ञप्ति जारी गर्दै अब पनि लकडाउन गर्नु आफ्नो जिम्मेवारीबाट पन्छिनु मात्रै भएको बताएको छ।

कडा लकडाउनका बीच पनि धेरै मात्रामा संक्रमितहरुको संख्या बढेको तथ्यांक सबैलाई अवगत रहेको भन्दै संघले सुनिश्चित उपायहरू अपनाई संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने बताएको छ।

कोरोनाबाट सम्भावित मृत्युदरलाई घटाउन पूर्वाधार तथा थप जनशक्ति परिचालन गर्नु पहिलो आवश्यकता तथा प्राथमिकता भएकोले यसतर्फ सम्बन्धित निकायहरु थप सम्वेदनशील हुन अत्यन्त जरुरी रहेको संघको विज्ञप्तिमा उल्लेख रहेको छ।

बुधबार उपत्यका मेयर फोरम र सीसीएमसीको बैठकमा उपत्यकामा कोभिडको संक्रमण बढ्दै गएको भन्दै कोरोनाको चेन तोड्न छठपछि फेरि लकडाउन गर्नुपर्ने उपत्यकाका मेयरहरुले माग गरेका थिए।

संघले विपत्ति जानाउँदै ‘विगत ६ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाइसेवालगायतका अन्य व्यवसायहरुलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित नहुने र यसले आम नागरिकको आयमा फेरि बन्देज लगाई हजारौं श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजीरोटी समेत खोसिने’ संघले उल्लेख गरेको छ।

लकडाउनको बीचमा वायुसेवा कम्पनीहरुले ६ अर्बभन्दा बढी घाटामा व्यहोरिसकेको अवस्थामा यसलाई फेरि पुनः थप व्ययभार थप्नु न्यायोचित नहुने बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिर १ देखि आन्तरिक पर्यटकीय गतिविधि सुरु गरिसकेको भन्दै संघले ट्राभल एजेन्सीहरुले पनि विभिन्न होलिडे प्याकेज तथा ट्रेकिङहरुको धमाधम बुकिङ कन्फर्म गरी राखेका परिप्रेक्ष्यमा यसलाई पुनः रोक्नु नहुने बताएको छ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल संक्रमणरहित सरसफाइ नै कोरोना हटाउने मुख्य हतियार रहेको हुँदा यसलाई अझ बढीभन्दा बढी जनचेतना फैलाउने तथा सो उल्लंघन गरेको खण्डमा कानूनी दायरामा ल्याई अनिवार्य दण्डसजाय हुने व्यवस्था गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad