कारोबार


दुई साताभित्र बंगलादेशबाट मल ल्याउने गरी सरकारले सुरु गर्‍यो प्रक्रिया

दुई साताभित्र बंगलादेशबाट मल ल्याउने गरी सरकारले सुरु गर्‍यो प्रक्रिया

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ०:९,

मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया सुरु भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बंगलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले सरकारको निर्णयअनुसार समझदारीपत्र बंगलादेश सरकारलाई पठाएपछि उताबाट स्वीकृति आएलगत्तै खरिद प्रक्रिया शुरु हुने बताए।

‘हाम्रो सरकारले जस्तै बंगलादेश सरकारबाट नेपाललाई मल दिने विषयमा निर्णय हुनुपर्छ। उताबाट निर्णय भएर सहमतिपत्रमा हस्ताक्षर सँगै मल आउँछ’, उनले भने। ‘दुई देशका सरकारबीचको खरिद प्रक्रिया भएका कारण मलको पैसा सिधै सरकारको खातामा जान्छ । मल ढुवानीको सबै प्रक्रिया यसअघि नै टुङ्गीसकेको छ।’

सबै प्रक्रिया पूरा गरेर अबको दुई सातामा पहिलो किस्ताको मल नेपाल आइपुग्ने अनुमान गरिएको छ। ‘हामीले अनुमान गरेजस्तै सबै काम सरासर भयो भने छिट्टै मल आइपुग्छ, ढुवानीका लागि कम्पनी छनोट भैसकेको छ। उताबाट हुन्छ भन्नासाथ खरिदको काम शुरु हुन्छ,’ केसीले भने।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृतिअनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

कृषि मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ ।

ढुवानीका लागि पाँच वटा कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । मन्त्रालय र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भएतापनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुनसक्ने अनुमान गरिएको कम्पनीका अधिकारीहरु बताउँछन्।

गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन बार्तामा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बंगलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरेतापनि पछिल्लो समय खरिद गरेर लैजानु पर्ने प्रस्ताव राखेको थियो।

सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खर्चसँगै झन्झटिलो भएको र बंगलादेश सरकारले समेत खरिद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो । बङ्गलादेशको प्रस्तावअनुसार कृषि मन्त्रालयले पुनः मन्त्रिपरिषद्को बैठकमा खरिदको प्रस्ताव लगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad