ad ad

कारोबार


दसैंमा उपत्यकाका रिसोर्टमा चहलपहल, प्याकेजका कारण चन्द्रागिरिमा आकर्षण

दसैंमा उपत्यकाका रिसोर्टमा चहलपहल, प्याकेजका कारण चन्द्रागिरिमा आकर्षण

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ८:२५,

दसैंको समयमा काठमाडौं उपत्यका होटल तथा रिसोर्टमा चहलपहल देखिएको छ।

कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सरकारले चैतमा लकडाउन घोषणा गरेको थियो। त्यसयता  ठप्प रहेका रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल भएको हो।

कोरोनाका कारण रिसोर्ट पूर्ण क्षमता नखुली ५० प्रतिशत मात्रै कोठाहरु खुला गरेको बताएका छन्। गत वर्षको तुलनामा यो वर्ष रिसोर्ट जानेको संख्या कम भए पनि दसैंअघि भन्दा अहिले राम्रो भएको व्यवसायीको भनाइ छ।

कोभिड १९ का कारण ७ महिना बन्द भएको चन्द्रागिरि हिल्स एन्ड रिसोर्टमा असोजदेखि सञ्चालनमा आएको थियो। दसैंअघि सीमित रिसोर्टमा सीमित कोठा बुकिङ भए पनि दसैंको समयमा भने राम्रो भएको चन्द्रागिरि हिल्स तथा रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

‘कोभिड १९ का कारण सबै कोठा त खुल्ला गरेका थिएनौं,’ शाहले नेपालखबरसँग भने, ‘करिब ५० प्रतिशत कोठा खुला गरेकोमा दसैंको बेला पुरै भरिए।’

दसैँको समयमा केबलकार चढ्ने भने कम रहेको बताएका छन्।

‘कोभिडअघिको सामान्य अवस्थामा दैनिक ७/८ हजारले चढ्ने गरेकामा अहिले ७/८ सय जनामात्रै रहेका छन्,’ शाहले भने ‘दसैंअघि त २/३ सय मानिस पनि थिएनन्।’

चन्द्रागिरि हिल्सले कोभिड १९ बाट सुरक्षित रहन प्रोटोकल फलो गरेकाले मानिसहरुको आउजाउ बढेको दाबी गरेको छ। कम्पनीले केवलकारको एउटा डब्बामा बढीमा ४ जना मात्रै राख्ने गरेको छ। जसमा केबलकार चढ्नेले मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने प्रबन्ध मिलाइएको महाप्रबन्धक राणाले जानकारी दिए।

कम्पनीले लकडाउन र निषेधाज्ञापछि पर्यटकीय गतिविधि बढाउन आकर्षक प्याकेजसमेत ल्याएको छ। कम्पनीले एक जोडीका लागि एक रात दुई दिनको बेड एन्ड ब्रेकफास्टको साढे ६ हजारको प्याकेज ल्याएको थियो। यो प्याकेज अन्तर्गत निःशूल्क केबुलकार सुविधा, ब्रेकफास्ट, डिलक्स रुम रहेको छ।

उपत्यकाका धेरै होटल तथा रिसोर्टमा चहलपहल
बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टले सप्तमीदेखि आन्तरिक पर्यटक आउन सुरु गरेको बताएको छ। रिसोर्टका निर्देशक धर्मराज अर्यालले गत वर्षको दसैँको तुलानामा केही कमी भए पनि दसैँमा टीका नहुनेहरु आएको बताए।

दसैँअघि खासै चहलपहल नभए पनि दसैंको समयमा प्याकेजसमेत ल्याउँदा केही चहलपहल भएको उनले बताए।

गोकर्ण फोरेस्ट रिसोर्टले पनि दसैंको ४ दिन आन्तरिक पर्यटक रिसोर्टमा आएको जानकारी दिएको छ। रिसोर्टले सप्तमीदेखि टीकाको दिनसम्म राम्रै बुकिङ भएको बताएको छ। त्यसपछि भने खासै बुकिङ नभएको रुम डिभिजन डाइरेक्टर रोजिन सापकोटाले जानकारी दिए।

त्यसैगरी लकडाउनका कारण सेवा बन्द रहेको नगरकोटको क्लब हिमालय रिसोर्ट दसैंअघि मात्रै सञ्चालनमा आएको थियो। पुनः सञ्चालनमा आएको अवसर र चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभल विशेष अफरसमेत ल्याएको छ।

५० प्रतिशत मात्रै रुम खुला गरेको रिसोर्टले दसैंको समयमा सबै भरि भएकाे बताएको छ। कोभिड १९ का कारण यो रिसोर्ट पनि पूर्ण क्षमतामा भने चल्न सकेको छैन।

क्लब हिमालयले फेस्टिभल अफरमा यसअघि ११ हजार पर्ने कोठा ६ हजारमा बेड एन्ड ब्रेक फास्ट सेवा दिइरहेको छ। जसमा डिलक्स रुमको सुविधा, एभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङमा १० प्रतिशतको डिस्काउन्टको समेत व्यवस्था गरेको छ।

होटल तथा रिसोर्ट व्यवसायीले दसैं सकिएसँगै बुकिङ कम हुन लागेको बताएका छन्। कोराेनाका कारण अधिकांश मानिस बाहिर निस्कन डराइरहेकाले रिसोर्ट खुले पनि चल्न नसकेको व्यवसायीको भनाइ  छ। दसैँपछि केही सुस्ताए पनि तिहारमा फेरि रौनक आउने विश्वास व्यवसायीको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .