ad ad

कारोबार


ललितपुर महानगरले बनायो १० किमि सडकमा साइकल लेन, दोस्रो चरणमा २२ किमिको ठेक्का

ललितपुर महानगरले बनायो १० किमि सडकमा साइकल लेन, दोस्रो चरणमा २२ किमिको ठेक्का

वसन्त अर्याल
कात्तिक ६, २०७७ बिहिबार ८:९,

ललितपुर महानगरपालिकाले साइकलको लागि छुट्टै लेनको व्यवस्था गरेको छ। महानगरले पाइलट प्रोजेक्टको रुपमा १० किमि सडकमा साइकल लेन निर्माण गरेको हो।

महानगरपालिकाले सडक विभागअन्तर्गत पर्ने मुख्य सडक थापाथली–पुलचोक–जाउलाखेल–लगनखेल–मंगलबजारबाट घुमेर फेरि पुलचोकसम्मको काम अन्तिम चरणमा पुर्याएको छ। सडक विभागसँगको समन्वयमा महानगरले सडकको दुईतर्फि गरेर १० किमिमा काम गरेको हो।

काठमाडौं उपत्यकाभित्रका मुख्य सडक साँघुरो भएकाले डेडिकेटेड साइकल लेन निर्माण गर्न सहज नभए पनि ‘सेयरिङ लेन’को रुपमा विकास गरिएको छ। महानगरले दुवैतर्फ हरियो रङ लगाई साइकलको लेन छुट्टाएको बताएको छ।

‘पहिलो चरणमा सडकको दुईतर्फी गरेर १० किमिमा काम भइरहेको छ’, ललितपुर महानगरपालिका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले भने, ‘साइकलको लागि छुट्टै लेन बनाउन पाएको भए हुन्थ्यो। अहिले त हामीले भइरहेको सहरी सडकमा बनाइएको हो।’

cycle lane jaulakhel 12
ललितपुरको पुलचोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु। तस्बिरः रासस

उनले ललितपुर महानगरलाई वातावरणमैत्री साइकल सहर बनाउँदै जाने मेयर चिरिबाबु महर्जनको योजनाअनुसार काम भइरहेको बताए।

‘हामीले ट्राफिक प्रहरीसँग समन्वय गरी सेयर लेनको अवधारणाअनुसार काम गरिरहेका छौँ। साइकललाई पहिलो प्राथमिकता रहेको हुन्छ भने साइकल नभएको अवस्थामा अन्य गाडीले पनि प्रयोग गर्न पाउँछन्’, गौतमले नेपालखबरसँग भने।

ललितपुर महानगरका सूचना अधिकारी समेत रहेका गौतमले साइकलसम्बन्धी छुट्टै कानुन आउनलागेको बताएका छन्। नगरसभाले पास गरेपछि लागू हुने कानुनमा अहिले निर्माण भएको लेनमा साइकललाई पहिलो प्राथमिकता हुने व्यवस्था रहेको उनले बताए।

५०–५० मिटरको दूरीमा हरियो रङ लगाई लेन निर्माण गरिएको छ। ‘५० मिटरको दूरीमा हाई क्वालिटीको इमल्सन प्रयोग गरिएको छ। पानी वा घामले त्यसलाई असर गर्दैन। त्यसमाथि हामीले साइकलको लोगो पनि बनाउँछौँ’, उनले भने, ‘अन्य नगरपालिकासँग समन्वय गरी गोदावरीसम्म साइकल लेनको विस्तार गर्ने योजना रहेको छ।’

ललितपुर महानगरपालिकालाई साइकल समाजले कन्सल्टेन्टको रुपमा सहयोग गरिरहेको छ।

दोस्रो चरणमा २२ किमिको ठेक्का
महानगरले पहिलो चरणको काम सम्पन्न हुनै लाग्दा दोस्रो चरणमा भित्री सडकमा साइकल लेनका लागि ठेक्का लगाइसकेको छ। महानगरले दोस्रो चरणमा २२ किमिको लागि ठेक्का लागिसकेको जानकारी दिएको छ। ठेक्का लागिसकेको काम दशैँलगत्तै निर्माण काम सुरु हुने बताएको छ।

महानगरपालिकालाई साइकल लेन निर्माणका लागि कन्सल्टेन्टको रुपमा सहयोग गरिरहेका आर्किटेक्चर इन्जिनियर सोमराज रानाले पहिलो चरणमा बनेको सडकलाई जोड्ने शाखा सडकमा दोस्रो चरणको काम हुनलागेको बताए। उनले पहिलो चरणमा निर्माण भएजस्तै दोस्रो चरणमा पनि साइकल लोगोसहित हरियो कलरमा लेन निर्माण हुने बताए।

‘मंगलबजार जहाँ वान वे रोड रहेको छ, त्यहाँ अब साइकल र मोटरसाइकल मात्रै प्रयोग गर्ने योजना पनि रहेको छ’, रानाले भने, ‘बाँकी शाखा सडकमा दुईतर्फ नै साइकलको लागि लेन छुट्याइएको हुन्छ।’

ललितपुर महानगरपालिकाले दोस्रो चरणमा करिब २५ किमि साइकल लेन बनाउन अध्ययन सुरु गरेको थियो। महानगरले ६ चरणमा करिब ६५ किमि साइकल लेन बनाउने योजना बनाएको छ। ललितपुरमा निर्माण भइरहेको साइकल लेन गाडी कुदिरहेको सडकमा साइन बोर्ड, साइकल लोगो, हरियो कलर गरी छुट्टिनेछन्।

cycle lane jaulakhel 13ललितपुरको पुलचोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु। तस्बिरः रासस

साइकल लेन बन्दा साइकल यात्री सुरक्षित
केहीले साइकल लेन बनाउँदा साँघुरा सडक व्यवस्थापन गर्न नसकिने बताए पनि साइकल यात्रीका लागि छुट्टै लेन आवश्यक रहेको छ। महानगरले बनाउनसकेको भए त डेडिकेटेड साइकल लेन सुरक्षित हुन्थ्यो तर उपत्यकाका भित्री सडक साँघुरो भएकाले अहिलेकै सडकलाई व्यवस्थित गर्न खोजिएको रानाको भनाइ छ।

‘अहिले ललितपुर महानगरले बनाएको साइकल लेन पहिलाको भन्दा धेरै राम्रो हो। यसअघि साइकलको बाटो हो भनेर पहिचान थिएन’, उनले भने, ‘गाडी तथा मोटरसाइकल चलाउनेहरु साइकल आयो भने रिसाउने, साइकल यात्रीलाई पनि कताबाट गुडाउने भन्ने समस्या रहेको थियो।’

उनले अब सबैलाई साइकलको लागि पनि बाटो हो भनेर साइकल देख्नेबित्तिकै हर्न बजाउन छाड्ने विश्वास गरे। ट्राफिक प्रहरीले पनि साइकल यात्रीभन्दा गाडीहरुलाई प्राथमिकता दिँदै आएका थिए, त्यस्ता समस्या अब कम हुने उनले बताए।

 भिडियो हेर्नुहोस् :

साइकल अभियन्ता साइकल लेनले उत्साहित भएका छन्। उनीहरुमा अब नयाँ साइकलिस्ट आउनको लागि पनि सहयोग पुग्ने विश्वास छ।

‘यसअघि नेपालमा साइकल लेन योजनाबद्ध रुपमा यसरी बनेको छैन। ललितपुर महानरले साइकल सहरको रुपमा विकास गर्न काम गर्दै छ, यसले साइकल यात्रीलाई उत्साहित बनाएको छ’, नेपाल साइकल समाजका अध्यक्ष रत्न श्रेष्ठले भने, ‘नयाँ साइकलिस्ट आउन प्रोत्साहन हुन्छ र पुराना साइकल यात्रीले पनि सहज महशुल गर्नेछन्।’

उनले साइकल लेन बनाएर मात्रै नहुँने भन्दै जनचेतनाको समेत आवश्यक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .