ad ad

कारोबार


कार्ल्सबर्ग बियरमा मापदण्ड नपुगेपछि गोर्खा ब्रुअरीमाथि कारबाही, डेनिस ब्राण्ड खोसिने सम्भावना

कार्ल्सबर्ग बियरमा मापदण्ड नपुगेपछि गोर्खा ब्रुअरीमाथि कारबाही, डेनिस ब्राण्ड खोसिने सम्भावना

दीपक भट्ट
कात्तिक ६, २०७७ बिहिबार ७:२४,

गोर्खा ब्रुअरीले उत्पादन गरेको कार्ल्सबर्ग बियरमा हुनुपर्ने जौको मात्रा नपुगेको भन्दै आन्तरिक राजस्व विभागले अन्तःशुल्क बढाएको छ। बियरमा ५० प्रतिशतभन्दा बढी जौको मात्रा हुनुपर्छ तर विभागले गरेको अनुगमनमा उक्त मात्र नपुगेको भेटिएको हो।

त्यही कारण विभागले कारबाहीस्वरुप अन्तःशुल्क बढाएको हो। तर गोर्खा ब्रुअरीले भने विभागको त्यो निर्देशन मानेको छैन। बियरमा प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ रहेकोमा जौको मात्रा कम देखिएपछि गोर्खा ब्रुअरीलाई प्रतिलिटर ४ सय ३० रुपैयाँ कायम गरिएको छ।

तर गोर्खा ब्रुअरीको कम्पनीले भने डेनमार्कबाट नै आएको रेसिपीअनुसार बियर उत्पादन गरेको भन्दै राजस्वको कर्मचारीहरुलाई मनाउने प्रयास गरिरहेको छ।

गोर्खा ब्रुअरीले डेनिस ब्राण्डको कार्ल्सबर्ग बियर उत्पादन गर्छ। उक्त कम्पनीले नेपालमा गोर्खा ब्रुअरीसँग सहकार्य गरेको छ। अहिले बियरमा हुनुपर्ने गुणस्तर नभएकोले गोर्खा ब्रुअरीले राजस्व विभागलाई झूटो बोलेर मनाउने प्रयास गरिरहेको आन्तरिक राजस्व विभागका एक निर्देशकले नेपालखबरलाई बताए।

उनले भने, ‘गोर्खा ब्रुअरीले डेनिस कम्पनीबाट नै आएको नयाँ रेसिपीअनुसार उत्पादन गरेको र त्यसरी उत्पादन गर्दा पहिलेजस्तो नदेखिएको बताएको छ। तर यो कुरा विभागले अध्ययन गरिरहेको छ।’

उनले थपे, ‘एक त यसरी उत्पादन गर्न नै पाइँदैन, बियरमा ५० प्रतिशतभन्दा बढी जौको मात्रा हुनैपर्छ। गोर्खा ब्रुअरीको बियरमा कनिका धेरै मिसाइएको भेटिएको छ । अर्को कुरा डेनिस कम्पनीले यस्तो रेसिपी दियो भन्ने कुरामा विश्वास नै गर्न सकिँदैन।’

कुरा फेर्यो गोर्खा ब्रुअरीले
गोर्खा ब्रुअरीको कावासोतीमा रहेको फ्याक्ट्रीकै अनुगमनमा जाँदा नै यस्तो भेटिएपछि राजस्व कार्यालयले स्पष्टीकरण सोधेको थियो। त्यति बेला कम्पनीले दक्ष कामदारको अभावमा यस्तो हुन गएको बताएको थियो।

तर कारबाहीस्वरुप राजस्व कार्यालयले अन्तःशुल्क दर बढाइदिएपछि गोर्खा ब्रुअरीले कुरा फेरेको छ। कम्पनीले अहिले डेनिस कम्पनीले नै नयाँ रेसिपी पठाएपछि यस्तो उत्पादन गरेको भन्दै बढाएको अन्तःशुल्क तिर्न आनाकानी गरिरहेको हो। कम्पनीको यस्तो बियर करिब ५ लाख कार्टुन उत्पादन गरेको भेटिएको र केही बजारमा समेत गइसकेको छ।

गोर्खा ब्रुअरीले जस्तोसुकै आनाकानी गरे पनि बढाएको राजस्व भने असुलेरै छोड्ने र अबदेखि यस्तो उत्पादन गर्न नदिनेमा राजस्व कार्यालय कटिबद्ध रहेको छ।

ती अधिकारी भन्छन्, ‘उनीहरुले जस्तोसुकै बहानाबाजी गरे पनि हामीले छोड्ने कुरा नै भएन, बढाइएको राजस्व जसरी पनि असुल गर्छौँ।’

डेनिस ब्राण्ड खोसिने सम्भावना
विश्वचर्चित ब्राण्ड हो कार्ल्सबर्ग बियर। यो डेनिस कम्पनीको कार्ल्सबर्ग नेपालमा गोर्खा ब्रुअरीले उत्पादन गर्दै आएको छ। नेपालमा गुणस्तरहीन उत्पादन भएको र गोर्खा ब्रुअरीले राजस्व कार्यालयलाई झूटो रिपोर्टिङ गरेर नयाँ रेसिपी डेनमार्कबाट नै आएको भनेको छ।

यसबारे डेनिस कम्पनीसँग नै सोधखोज गर्ने तयारीमा राजस्व कार्यालय रहेको छ। यदि गोर्खा ब्रुअरीको कुरा झुटो ठहरिए कार्ल्सबर्ग अन्तर्राष्ट्रिय ब्राण्ड नै खोसिने सम्भावना समेत रहेको ती अधिकारी बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .