ad ad

कारोबार


अर्थमन्त्रीको जोड परिणाममुखी आर्थिक सुधार, सचिवलाई दिए कर्मचारी व्यवस्थापनको जिम्मा

अर्थमन्त्रीको जोड परिणाममुखी आर्थिक सुधार, सचिवलाई दिए कर्मचारी व्यवस्थापनको जिम्मा

दीपक भट्ट
कात्तिक ५, २०७७ बुधबार ७:१६,

अर्थमन्त्री विष्णु पौडेलले आफु परिणाम निकाल्ने गरी काम गर्ने तयारीमा रहेको भन्दै कर्मचारीहरुको आन्तरिक सरुवाको जिम्मेवारी सचिव शिशिर ढुंगानालाई दिएका छन्।

राम्रो टिम बनाएर काम गर्ने र परिणाम निकाल्ने आफ्नो इच्छा रहेको भन्दै मन्त्री पौडेलले कर्मचारी सरुवा बढुवाका काममा आफु प्रत्यक्ष संलग्न नहुने गरी अर्थसचिव ढुंगानालाई जिम्मेवारी दिएका हुन्।

भन्सार, राजश्व लगायतका ठाउँमा मन्त्रीको छनोटको व्यक्ति पर्ने परम्परा तोड्दै दोस्रो पटक अर्थमन्त्री भएर आएपछि पौडेलले नयाँ ढंगले काम गर्न खोजेको चर्चा अर्थमन्त्रालयभित्र सुनिन थालेको छ।

अर्थ मन्त्रालयको महाशाखा प्रमुखहरु र अर्थमातहतका कतिपय निकायहरुमा रहेका सहसचिवहरुलाई भने मन्त्री पौडेल आफैँले निगरानी गर्ने भएका छन्। मन्त्री पौडेलले सचिव ढुंगानालाई नियमअनुसार उपसचिव तहसम्मका कर्मचारी व्यवस्थापनका लागि आफुसँग सोध्नै नपर्ने गरी निर्देशन दिएका हुन्।

अर्थमन्त्री पौडेलले सबै सहसचिवहरुसँग महाशाखाका कामहरूबारे ब्रिफिङ लिएका छन्। त्योभन्दा तलका कर्मचारीहरुसँग उनले अहिलेसम्म भेटघाट गरेका छैनन्।

अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार मन्त्री पौडेलले अहिले सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिव श्रीकृष्ण नेपाललाई नजिक राखेर काम गरिरहेका छन्।

सचिवद्वयसँग मन्त्रीको दिनहुँ काम पर्ने भए पनि अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा प्रमुख पनि रहेका श्रीकृष्ण नेपाललाई नजिक राखेका छन्। स्रोतहरूका अनुसार सरुवा भएर अन्यत्र जान लागेका नेपाललाई आफु अर्थमन्त्री भएपछि पौडेल नै रोकेका थिए।

अर्थ सचिव ढुंगानाअन्तर्गत प्रशासन महाशाखा, अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा, बजेट महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा रहेका छन्।

त्यस्तै राजस्व सचिव पुडासैनीअन्तर्गत योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, नीति विश्लेषण महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा, राजस्व व्यवस्थापन महाशाखा रहेका छन्।

यी महाशाखा अन्तर्गतका कर्मचारीमध्ये कसलाई कहाँ खटाउने भन्ने जिम्मेवारी स्वतन्त्र रुपमा शिशिर ढुंगानाले गर्नेछन्।

पौडेल मन्त्री भएको दोस्रो दिन नै ढुंगानाले कर्मचारीहरुको आन्तरिक फेरबदलसम्बन्धी पहिले नै तय भइसकेको सूची देखाएका थिए। ती सहसचिवका अनुसार मन्त्री पौडेलले फाइल नै नहेरी तय भएको सूची अनुसार आफैँ निर्णय गर्न सचिव ढुंगानालाई निर्देशन दिएका हुन्।

मन्त्री पौडेलले परिणाम आउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

‘अर्थमन्त्रीको जोड अर्थतन्त्रका सूचकाङ्कहरु सबल बनाउने, आर्थिक अवस्थामा सुधार ल्याउने र परिणाम देखिने गरी प्राथमिकताका आधारमा काम गरौं भन्ने छ’, एक सहसचिवले भने।

मन्त्री पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका छन्। उनी काजमा अर्थ मन्त्रालय तानिएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .