ad ad

कारोबार


दसैं नजिकिएसँगै बजार अनुगमन तीव्र, २४ उद्योगलाई कारबाही

दसैं नजिकिएसँगै बजार अनुगमन तीव्र, २४ उद्योगलाई कारबाही

नेपालखबर
असोज २६, २०७७ सोमबार ३:३९,

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएको छ। चाडबाडनजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षणलाई थप व्यवस्थित गरिएको हो।

विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा चलाइएको जानकारी दिए। तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘र्‍यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकामा एक पानी उद्योग अनुमतिबिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ।

खाद्य ऐनविपरीत सञ्चालित २ उद्योगकाे उत्पादन रोक्का गरिएको विभागले जनाएको छ। अन्य २१ उद्योगविरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए।

उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कूल ३ सय ९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन गरिएको थियो। तीमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छतासम्बन्धी १५५ गरी ४३३ नमुना संकलन गरिएको थियो।

परीक्षणका क्रममा १४ वटा नमुना प्रतिकूल देखिएकाले कारबाही गरिएको छ। अन्य अनुसन्धानकै क्रममा रहेको जनाइएको छ।

विभागअन्तर्गत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात/निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय छ। कार्यालयले गत भदौ २८ देखि नै तीनवटा अनुगमन टोली परिचालन गरिरहेको छ।

कोरोना महामारीका कारण पिउने पानी, दूध तथा दानाको अनुगमन गरिएको थियो। अहिले भने चाडबाडकेन्द्रित अनुगमन टोली बनाई परिचालन गरिएको विभागले जनाएको छ।

मातहतका कार्यालयलाई समेत अनुगमनलाई तीव्रता दिन दिर्नेशन दिइएको छ। यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमुना संकलन गरिएको थियो।

दुईवटा नमुना प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ। अन्य नमुना विश्लेषणकै क्रममा छ। सात दुग्ध उद्योगमा अनुगमन भएकामा ६ वटाको नमुना संकलन गरिएको छ।

खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकामा ३४ नमुना संकलन गरिएको र एउटा प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ।

चडबाडमा समेत गुनासो सम्बोधन गरिने

विभागले चाडबाडको बिदाको समयमा पनि गुनासो सुन्ने भएको छ। यस्तै प्रयोगशाला परीक्षणसमेत सञ्चालन गरिने विभागले सूचनामार्फत जानकारी दिएको छ। त्यसका लागि सम्पर्क व्यक्तिसमेत तोकिएको छ।

खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तीव्रता दिइएको सहप्रवक्ता दाहालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .