ad ad

कारोबार


आफ्नै ठगीको फन्दामा शंकर ग्रुप, अमेरिकी चेन होटल हिल्टनले तोड्यो सम्झौता

आफ्नै ठगीको फन्दामा शंकर ग्रुप, अमेरिकी चेन होटल हिल्टनले तोड्यो सम्झौता

नेपालखबर
असोज २२, २०७७ बिहिबार १२:२३,

अमेरिकन चेन होटल हिल्टनले आफ्नो फ्रेन्चाइज होटल बनाउने गरी नेपालको शंकर ग्रुपसँग गरेको सम्झौता एकपक्षीय रुपमा तोडेको छ।

कमजोर गुणस्तरका निर्माण सामग्री प्रयोग भएकाले होटलको भवन निर्माण नै कमजोर रहेको र निर्माणमा भएको ढिलाइमाथि गम्भीर प्रश्न उठाउँदै हिल्टनले शंकर ग्रुपसँगको सम्झौता तोडेको हो।

दुई महिनाअघि हिल्टनले इमेल लेख्दै सम्झौता तोडिएको जानकारी दिएको शंकर ग्रुपका एक उच्च अधिकारीले बताए।

पाँच अर्ब रुपैयाँको लागत अनुमानसहित शंकर ग्रुपले वि. सं. २०७२ सालमा काठमाडौंमा नक्सालको भगवतीबहालमा १६ तले भवनमा पाँचतारे होटल निर्माणको लागि उद्योग विभागमा जगदम्बा हस्पिटालिटी कम्पनी दर्ता गरेको थियो।

उद्योग विभागमा दर्ताको लागि गरेको आवेदनअनुसार २०७५ सालमा यो होटल सञ्चालन भइसक्नुपर्ने थियो। अमेरिकी कम्पनी हिल्टनसँग पनि त्यहीअनुसार सम्झौता गरेको थियो।

तर अहिलेसम्म पनि होटल निर्माण सकिएको छैन।

हिल्टनले सम्झौता तोड्नुमा दुईवटा कारण दिएको छ। पहिलो, निर्माण सामग्रीको गुणस्तर कमजोर भएकाले होटलको भवन नै कमजोर बनेको गम्भीर प्रश्न उठाइएको छ भने निर्माण कार्यमा भएको ढिलाइ अर्को कारण बनेको छ। यो होटलको १६ तले भवन निर्माणमा शंकर ग्रुपले आफ्नै उत्पादन जगदम्बा स्टिल प्रयोग गरेको थियो।

केही महिनाअघि जगदम्बा स्टिलले उत्पादन गरेका छड कमसल भएको भन्दै गुणस्तर तथा नापतौल विभागमा उजुरी परेको थियो। त्यसको केही दिनमै कमजोर गुणस्तरका निर्माण सामग्री प्रयोग भएकाले होटलको भवन निर्माण नै कमजोर रहेको भन्दै हिल्टनले सम्झौता तोड्ने इमेल पठाएको शंकर ग्रुपका ती उच्च कर्मचारीले बताएका हुन्। 

उनले भने, ‘हिल्टनले त्यो कुरा कसरी थाहा पायो, त्यो त जानकारी भएन तर जगदम्बा स्टिलबारे गुणस्तर तथा नापतौल विभागमा उजुरी परेको भनेर मिडियामा आएको केही दिनमै त्यो इमेल आएको थियो।’

जगदम्बा स्टिलका छड (डण्डी) हातले नै भाँच्न सकिने फेला परेको भन्दै गुणस्तर तथा नापतौल विभागमा उजुरी परेको थियो।

१६ एमएमको टीएमटी बार फी ५०० छडमा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेको भेटिएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ। गत भदौ २६ गते विभागले प्रेस विज्ञप्ति जारी गर्दै छड गुणस्तरहीन नै रहेको भन्दै बजारमा पठाइसकिएका छडसमेत फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको थियो। अनुसन्धान अवधिभर जगदम्बाको छड उत्पादन समेत रोकिएको थियो।

ShankarGroup2

गुणस्तर तथा नापतौल विभागले बारम्बार सचेत गराउँदा पनि कमजोर गुणस्तरका छड बजारमा बिक्रि गर्दै आएको शंकर ग्रुप अब त्यो ठगीको शिकार आफैं पनि भएको छ।

अन्तर्राष्ट्रिय चेन होटल निर्माण गरेर राम्रो अकुपेन्सी तान्ने शंकर ग्रुपको योजना आफ्नै उद्योगको कमसल उत्पादन प्रयोग गर्दा असफल हुने देखिएको छ। हिल्टनबाट सम्झौता तोडिएको जानकारी पठाएपछि शंकर ग्रुप यो होटललाई अपार्टमेन्ट बनाउने सोचमा समेत पुगेको थियो।

डबल ट्रि हिल्टन होटल नामकरण गर्ने गरी भएको फ्रेन्चाइज सम्झौता अमेरिकन चेन होटल हिल्टनले तोडेपछि अहिले शंकर ग्रुपले डबल ट्रि मात्रै नाम राखेर होटल सञ्चालन गर्ने योजना बनाएको बुझिएको छ। तर भूकम्पको उच्च जोखिममा रहेको काठमाडौंमा अमेरिकी कम्पनीले नै कमजोर ठहर गरेको १६ तले भवनमा सरकारले होटल सञ्चालन गर्न दिन्छ कि दिँदैन भन्ने प्रश्न उठेको छ।

पाँचतारे मान्यता पाउन गाह्रो
फ्रेन्चाइज होटल बनाउने भनेर प्रस्ताव गरिसकेको अवस्थामा सोहीअनुसार सञ्चालन गर्न नसकेपछि सोझै प्रश्न उठ्ने देखिएको छ। यसबाहेक यो होटल नक्सालको सानो क्षेत्रफलमा रहने भन्दै पहिलेदेखि नै आलोचना भइरहेको छ।

करिब ४ रोपनी जग्गामा १६ तल्ला निर्माण भइरहेको भन्दै स्थानीयतहहरुले निर्माण सुरु हुँदादेखि नै विरोध गरिरहेका छन्। होटलको मूल्याङ्कन गर्ने पर्यटन विभागले भने निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि मात्रै यसबारे भन्न सकिने बताएको छ।

विभागका महानिर्देक रुद्र सिंह तामाङले नेपालखबरसँग भने, ‘हामीले सुरुमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) मा हस्ताक्षर गरेको हो। अब सञ्चालनमा आइसकेपछि मूल्याङ्कन गरी होटल कुन स्तरको छ, त्यही स्तरको मात्रै मान्यता दिने हुनसक्छ।’

तोडियो सम्झौता, अब के हुन्छ?
नेपालमा कुनै पनि फ्रेन्चाइच सञ्चालनमा ल्याउन कुनै सरकारी मान्यता लिनुपर्ने व्यवस्था छैन। कम्पनीले अन्तर्राष्ट्रिय ब्राण्ड लिएर राम्रो व्यापार गर्नको लागि फ्रेन्चाइज लिने गर्छन्। तर ब्राण्डको मापदण्ड भने कम्पनीले पूरा गर्नुपर्ने हुन्छ। सोहीअनुसार सम्झौता समेत गरेको हुन्छ। केही कम्पनीले सोही ब्राण्डले व्यवस्थापन समेत निश्चित समय गरिदिने भनेर सम्झौता गरेका हुन्छन्।

तर शंकर ग्रुपले व्यवस्थापनको लागि सम्झौता गरेको थिएन। यो कम्पनी–कम्पनीबीचको सम्झौता भएको कारण दुवैको सहमति वा एकल निर्णयले पनि सम्झौता तोडिन्छ। तर यदि ब्राण्ड कायम रहेमा त्यसबापतको रोयल्टी भने तिर्नुपर्ने हुन्छ।

त्यस अवस्थामा भने उद्योग विभाग र नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको उद्योग विभागका प्रवक्ता विनोद खड्का बताउँछन्।

होटल सञ्चालनमा आइसक्नु पर्ने समयमा अमेरिकन कम्पनीले कमजोर गुणस्तरका निर्माण सामग्री प्रयोग भएकाले होटलको भवन निर्माण नै कमजोर रहेको गम्भीर प्रश्न उठाउँदै फ्रेन्चाइज सम्झौता तोड्नुले शंकर ग्रुपप्रतिको व्यवसायिक विश्वसनियता नै धरापमा परेको छ।

विवादै विवादमा शंकर ग्रुप
शंकरलाल अग्रवालको नामम स्थापित शंकर ग्रुप उद्योग तथा व्यपारको हिसावले नेपालका ठूला व्यवसायिक घरनामध्ये एक हो। यो ग्रुपले जगदम्बा स्टिल, जगदम्बा मोटर्स (टीभीएस बाइक), जदम्बा वायर, जगदम्बा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्पिनिङ मिल, जगदम्बा सेन्थेटिक, शंकर सेन्थेटिक, जदम्बा फुड प्रोसेसिङ, जगदम्बा लल्को वेभ, रिद्धिसिद्धि मिनरल्ससहित २३ वटा कमपनी संचालन गर्दै आएको छ।

उद्योग र व्यापारमा संलग्न यो ग्रुप भने सधैं नै विवादमा आइरहन्छ। कालो बजारी, कमसल उत्पादन र ठगी धन्दा, कर छली र नक्कली भ्याट बिल प्रकरणमा यो ग्रुप मुछिने गरेको छ।

शंकर ग्रुपका सुलभ अग्रवालले कोरोना संकटको समयमा पनि कालोबजारी गर्दै हिंडिरहेको अवस्थामा प्रहरीले रंगे हात समातेर अदालतमा मुद्दा पठाएको थियो। अदालतले उनलाई २५ लाख ५० हजार धरौटीमा छोडिदिएको हो। लगत्तै सम्पत्ति सुद्धिकरण विभागले समातेर उनलाई तारेखमा छाडेको थियो।

साहिल अग्रवालले हेर्दै आएको जगदम्बा स्टिलले बदमासी गरेको प्रश्न बारम्बार उठ्ने गरेको छ। सिमरामा रहेको यो उद्योगले कवाडी फलामका सामान स्क्रयाप गरि न्यून गुणस्तरको छड उत्पादन गरेर बिक्रि बितरण गर्दै आएको छ। नेपाल गुणस्तर तथा तापतौल विभागले यसको उत्पादन प्रयोग नगर्न उपभोक्तालाई सुचित गरेको छ।

निर्माण सामग्रीको गुणस्तर कमजोर भएकाले भवन नै कमजोर बनेको गम्भीर प्रश्न उठाउँदै हिल्टनले होटल फ्रेन्चाइज सम्झौता तोडेपछि त जगदम्बा स्टिलको उत्पादन कति कमजोर रहेछ भन्ने झन् प्रमाणित भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .