सरकारले चैतमा नेपालको व्यापारघाटा घटाउन भन्दै केही वस्तु आयातमा नै बन्देज लगायो। त्यसरी बन्देज लगाइएको वस्तुमध्ये एक केराउ पनि हो।
केराउ नेपालमा मुख्यतया क्यानडाबाट आयात हुन्छ। क्यानडाबाट आयात हुने केराउ बन्द गर्दा नेपालमा डीएपी (डकुमेन्ट अगेन्स्ट पेमेन्ट)मार्फत आयात भएको केराउ नेपालको भन्सारमा आएर थप्रियो।
त्यसलाई व्यापारीहरुले पनि बढाइचढाइ गर्दै धेरै नै थुप्रियो भनेर सरकारसँग खुलाउन ठूलै माग राखे। तर उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले मान्दै मानेन।
उनीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्षसम्म यो कुरा पुर्याए।
लामो समय मन्त्री भट्टसँग उनीहरुले आफ्ना माग राखेपछि डीएपीमार्फत आयात भएको केराउ छुटाउने र नेपालको उद्योगलाई आवश्यक पर्ने केराउ आयात समेत गर्न दिनसकिने निर्णय मन्त्री भट्टले गरे।
त्यहीअनुसार आयातको प्रक्रियाको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहयोग समेत गर्यो।
यसरी आफैँले रोकेर पुनः खुलाउनु र नेपालमा आवश्यकता भन्दाभन्दै आगामी आयातको लागि समेत सहजीकरण गर्नुले मन्त्री भट्ट विवादमा समेत परे।
बुधबार मन्त्री भट्टले नै आयोजना गरेको पत्रकार सम्मेलनमा समेत उनलाई त्यो प्रश्न पत्रकारहरुले गरेका थिए।
उनले त्यसको जवाफ दिँदै भने, ‘नेपाललाई पनि केराउ आवश्यक छ, नेपालमा त्यस्तो केराउ धेरै मात्रामा उत्पादन हुने गरेको मैले देखेको छैन। त्यसकारणले परिणात्मक रुपमा खुलाउनुपरेको हो।’
उनले नेपालमा केराउ हरेक भातभान्सामा प्रयोग हुने र त्यसमा पनि अचारको लागि त नभई नहुने जवाफ फर्काए।
‘अहिले धेरै होटलहरु भन्द भएर मात्रै हो, नत्र केराउ अझ धेरै खपत हुने थियो’, उनले भनेका थिए, ‘खाद्य उद्योगहरुमा पनि यो आवश्यक छ। त्यसकारणले पनि आयात आवश्यक देखिन्छ।’
उनको आशय थियो, ‘पहिला तेस्रो मुलकबाट आयात भएर भारत निर्यात हुने गरेको केराउ अब आन्तरिक खपतको लागि मात्रै आयात हुन्छ, निर्यात बन्द हुन्छ।’
तर भन्सार पास भएर केराउ आउन थाले पनि अहिले भारततर्फ तस्करी बढिरहेको छ। प्रहरीले केहीलाई पक्राउ गर्नसकेको छ भने केही निर्बाध रुपमा भारत प्रवेश गरिरहेको छ।
प्रहरीले दिएको तथ्याङ्कअनुसार पछिल्लो समय ३ लाख २५ हजार ८ सय २५ किलो केराउ भारत लैजाने तयारी गरिरहेको अवस्थामा पक्राउ परेको छ।
भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करिब दुई करोड ५० लाख मूल्यबराबरको तीन लाख २५ हजार किलो हरियो केराउ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
यो गत हप्ता बिहीबार प्रहरीले पक्राउ गरेको हो। पर्सा प्रहरीका अनुसार हरियो मटर वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमानजिकै एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाणको मटर बरामद गरिएको पर्सा प्रहरीले जानकारी गराएको छ।
त्यस्तै योभन्दा अहिले डुङ्गा (नाउ)मार्फत सप्तकोशी नदीबाट अवैधरुपमा भारतको कुनौलीतर्फ लैजान तयारी अवस्थामा रहेको २५ किलो हरियो केराउ हनुमानगर कंकालिनी नगरपालिका–कोशी खोलाको बगरमा फेला प्रहरीले फेला पारेको थियो। कोशी नदीको काँसघारीमा लुकाएर राखिएको २२ किलोको ३३ बोरा केराउ बरामद गरिएको सप्तरी प्रहरीले पुष्टि गरेको हो।

प्रतिक्रिया