ad ad

कारोबार


दुई महिनामा ८ अर्बको मोबाइल आयात, दशैँ अफरले बिक्री बढ्ने आशामा व्यवसायी

दुई महिनामा ८ अर्बको मोबाइल आयात, दशैँ अफरले बिक्री बढ्ने आशामा व्यवसायी

नेपालखबर
असोज १३, २०७७ मंगलबार १०:४४,

ठूला चाडबाड आइरहेको बेला मोबाइल बजारमा ठूलो मात्रामा मोबाइल भित्रिएका छन्। हाल बजार सुनसान भए पनि दशैँतिहारलाई लक्षित गरेर सामानहरु भित्रिन थालेका हुन्।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै झण्डै ८ अर्बको मोबाइल ह्यान्डसेट भित्रिएका छन्।

तथ्यांकअनुसार दुई महिनाको अवधिमा ९ लाख ९५ हजार ५ सयवटा मोबाइल भित्रिएका छन्। जसको मूल्य ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ छ।

पछिल्लो भदौ महिनामा मात्र ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँको ४ लाख ७० हजार ६ सय २१ वटा मोबाइल भित्रिएका छन्।

केही समय अघिसम्म बजारमा मोबाइल अभाव रहेकोमा पछिल्लो आपूर्तिले सहज उपलब्धता भएको व्यवसायी बताउँछन्।

mobile kinneko bhid 2

अहिले बजारमा धेरैजसो मोबाइल उपलब्ध रहेको ताम्राकार मोबाइल संघका सचिव गुरुदत्त शर्माले बताए।

‘बजारमा एमआईबाहेक अरु सबै मोबाइल पाइन्छ’, शर्माले भने।

बजारमा सामान रहे पनि ग्राहक भने नभएको उनको भनाइ छ। बिक्री खासै नभएको र बजार सुनसान रहेको उनले बताए।

चाडपर्व आउँदै गरेकाले सामान बिक्री हुने आशा व्यवसायीहरुको छ। ‘मोबाइलमा दशैँ अफर आएपछि बिक्रीवितरण बढ्न सक्छ’, शर्माले भने, ‘१०/१२ दिनपछि बिक्री बढ्ला कि भन्ने आशा छ।’

खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले बजारमा दशैँको रौनक नआएको बताए। न्युरोड खिचापोखरीमा भीडभाड लाग्ने भनेको नौरथा लागिसकेपछि हो। त्यसैले कात्तिक १/२ गतेपछि अलि भीडभाड होला कि भन्ने आशा न्यौपानेलाई छ।

लकडाउन सुरु भएपछि नेपाली बजारमा मोबाइलको माग बढ्दै गएको थियो। कोरोना संकटले लकडाउन लम्बिँदै गएपछि स्कुल कलेज बन्द भए। उनीहरु अनलाइन कक्षा सञ्चालन गर्न थालेपछि भने मोबाइलको माग बढेको थियो।

त्यो बेला भने बजारमा मोबाइल उपलब्ध हुन सकेनन्। लकडाउनले अन्तर्राष्ट्रिय उडान हुनसकेको थिएन भने बाटो पनि पहिरोले अवरुद्ध भएको थियो।
अहिले मोबाइल आयात सहज भएको व्यवसायी बताउँछन्।

बजारमा मोबाइलको बजारमा ४० प्रतिशत चोरीपैठारीबाट आएको भन्दै केही समयअघि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) र नेपाल मोबाइल वितरक संघले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरी वैधानिक तरिकाबाट आयात गर्न सबैलाई आग्रह गरेका थिए।

व्यवसायीका अनुसार अहिले बजारमा मध्यमस्तरका मोबाइलको माग धेरै छ । १० हजारदेखि २५ हजारसम्मका मोबाइलमा उपभोक्ताको माग धेरै भएको व्यवसायी बताउँछन्। अधिकांश यही मूल्य तहका मोबाइल बिक्री भइरहेका छन्।

बजारमा एक हजार रुपैयाँ आसपासका स्मार्ट फोन समेत उपलब्ध छन्। त्यस्तै, लाख रुपैयाँभन्दा धेरै पर्ने मोबाइल पनि फाट्टफुट्ट बिक्री भइरहेका छन्।

अहिले बजारमा सामसङ, सोनी, नोकिया, कलर्स, हुवावे, जियोनी, एप्पल, इन्टेक्स, डीटीसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटीसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .