कारोबार


स्वदेशमा काम दिन नसक्दा स्वास्थ्य जोखिम मोल्दै बाहिरिँदै नेपालीहरु

स्वदेशमा काम दिन नसक्दा स्वास्थ्य जोखिम मोल्दै बाहिरिँदै नेपालीहरु

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:४९,

नेपालमा विकास निर्माणको काम सञ्चालन नहुँदा रोजगारीको लागि नेपाली फेरि बाहिर जान लागेका छन्।

भारतबाट मजदुरीको काम गर्दै आएका लाखौं नेपाली कोभिड १९ को कारण नेपाल आएका थिए। तर नेपालमा बसेर आफ्नो ज्यान पाल्न कठिन भएको भन्दै दशैँ पनि नमनाई फेरि भारत जान लाइन लाग्ने गरेका छन्।

छ महिनादेखि लकडाउन÷निषेधाज्ञाको ठप्प हुँदा नेपालमै काम गर्ने मजदुर पनि खान नपाएको बताउँदै आएका छन्। सरकारले बजेटमा कृषि र स्थानीय पूर्वाधारमार्फत रोजगारी दिने बताए पनि अहिलेसम्म कार्ययोजना बनाउनसकेको छैन।

बजेटमा स्वास्थ्य पूर्वाधारको लागि ठूलो बजेट विनियोजन गरे पनि त्यसलाई अहिलेसम्म निर्माणका काममा लगाउनसकेको छैन। विज्ञहरुले स्थानीयतहमा भएका विकासका कामलाई पूर्ण रुपमा सञ्चालन गरे नेपालमा तत्काल धेरै रोजगारी सिर्जना हुनसक्ने बताएका छन् ।

भारतलगायत खाडी मुलुकबाट फर्किएका लाखौँ युवालाई नेपालमा रोजगारीको अवसर दिन नसक्दा फेरि कोभिडको जोखिम मोल्दै विदेश जान आतुर रहेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विदेशबाट आएका नेपालीलाई व्यवस्थित गर्न नसक्दा उनीहरु बाहिर जानुपरेको बताए।

‘हामीले सरकारलाई बाहिरबाट आएका युवालाई कस्ता काममा दक्ष छन्, तिनको लागत राख्न सुझाव दिएका थियौँ’, उनले भने, ‘सरकारले बाहिरबाट कस्ता मानिस आए, उनीहरु कस्ता काममा दक्ष थिए भन्ने बुझेको भए बाहिर मजदुरी गर्ने नेपालीलाई नेपालको विकास निर्माणमा लगाउन सकिन्थ्यो।’

सरकारले लकडाउनको कारण निर्माण व्यवसायीलाई मजदुर एक जिल्लाबाट अर्को जिल्ला लैजान रोक लगाएको थियो। मजदुर एक जिल्लाबाट अर्को जिल्ला गए १४ दिनसम्म क्वारेन्टिन बस्नुपर्ने बाध्यता थियो।

‘१४ दिन क्वारेन्टिन बस्दा १५ हजार खर्च हुन्छ। त्यो खर्च मजदुरले नव्यहोर्ने र सरकारले पनि सहयोग नगर्ने’, सिंहले भने, ‘त्यसैले उनीहरु बाहिर जान बाध्य भए।’

मजदुरी गरेर खाने कि त बाहिर जान बाध्य छन्, कि भोकै बस्न। सरकारले मजदुरको लागि कामको र खानाको व्यवस्था गर्न पनि सकेन। काठमाडौंसहित मुख्य सहरमा कसैले खाना खुवाउन थाल्यो भने लाइन लाग्ने गरेको छ।

निर्माण व्यवसायीले सरकार लकडाउन गरेर बस्ने तर विकास निर्माणको कामलाई गति दिन ध्यान नदिएको बताएका छन्।

‘विकास निर्माणका काम गर्न खोज्दा स्थानीयले अवरोध गरे। गिट्टी, बालुवा उठाउन दिएनन्। मजदुरलाई आयोजना स्थलमा ल्याउन दिँदैनन्’, महासंघका अध्यक्ष सिंहले भने, ‘नयाँ ठेक्का लागेका छैनन्। पुराना काम गर्न सरकारले सहजीकण गर्न सकेन।’

पूर्वाधारको लागि सबैभन्दा बढी खर्च गर्ने सडक विभागले दशैँपछि मात्रै आयोजनाले गति पाउने बताएको छ। कोभिड १९ को कारण र वर्षायाम हुँदा विकास निर्माणको काम अघि बढ्नसकेको छैन।

‘यो वर्ष हामीले अधिकांश नयाँ ठेक्काको टेन्डर आह्वान गरिसकेका छौँ’, सडक विभागका महानिर्देशक इन्जिनियर केशव कुमार शर्माले भने, ‘दशैँसम्म अधिकांश टेन्डरको काम सकिन्छ। त्यसपछि सडक पुल निर्माणको कामले गति लिन्छ।’

उनले निर्माण व्यवसायीलाई पूर्वाधार निर्माणका काम अघि बढाउन सहयोग गरेको भन्दै पुराना आयोजनामा काम भइरहेको दाबी गरे।

‘कोभिड १९ को अवस्था पनि ख्याल गर्नुपर्यो। स्वास्थ्य सुरक्षाको ख्याल गर्दै विकास निर्माणका काम अघि बढाउनु भनेका छौँ। बहुवर्षे ठेक्का आयोजनाका काम ठप्प छैनन्, भइरहेका छन्’, उनले भने।

निर्माण व्यवसायीले अब निर्माणको काम सुरु हुँदा भारतबाटै कामदार ल्याउनुपर्ने बाध्यता भएको बताएका छन्। भारतलगायत देशबाट आएका व्यक्तिलाई नेपालमै व्यवस्थापन गर्नसके भारतीय मजदुरको मुख ताक्नु नपर्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .