कारोबार


मिस्ट्रीखोला र तादीखोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन

मिस्ट्रीखोला र तादीखोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन

नेपालखबर
असोज ३, २०७७ शनिबार ११:४४,

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन भएको छ।

४२ मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकै पटक १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन भएको हो। दुईवटै आयोजनाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता सेयर खरिद गर्न पाउने माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले जानकारी दिए। ‘गत साउन ८ गतेदेखि सेयर निष्कासन गर्ने भनिएकामा बाढीपहिराका कारण सर्वसाधारणलाई बैंकमा जान आउन समस्या भएपछि स्थगित भएको थियो’, उनले भने, ‘भदौ ३१ गतेदेखि निस्कासन भएको शेयर छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म बन्द हुनेछ।’

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कूल लागतको १० प्रतिशत शेयर निष्कासन गरेको हो। मिस्ट्री खोला निर्माण स्थल नारच्याङ र तादी खोला (थप्रेक) जलविद्युत् आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका बासिन्दाका लागि ४० र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ६० प्रतिशत सेयर निस्कासन गरेको हो।

कूल रु १९ करोड ६८ लाख दुई हजार ७०० मूल्य बराबरको सेयर निष्कासन भएको छ। नारच्याङ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ।

मिस्ट्री खोलाको ९८ प्रतिशत निर्माण सकिएको आयोजनाको परामर्शदाता इन्जिनीयर दिवाकर खड्काले बताए। ‘बाँध र पेनस्टकको काम सकिएको छ,’ उनले भने, ‘विद्युत् गृहमा जडान भएका उपकरणको परीक्षण र टनेलको बाँकी काम अन्तिम चरणमा पुगेको छ।’ मिस्ट्री खोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो। नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ। पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad