ad ad

कारोबार


१७ गतेदेखि खुल्ने नियमित उडानमा कसले के नियम पालना गर्ने? यी हुन् १२ अनिवार्य शर्त

१७ गतेदेखि खुल्ने नियमित उडानमा कसले के नियम पालना गर्ने? यी हुन् १२ अनिवार्य शर्त

नेपालखबर
भदौ १०, २०७७ बुधबार ७:५९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कडा शर्तसहित नियमित उडान तालिका सार्वजनिक गरेको छ।

मन्त्रालयले भदौ १७ बाट नियमित २ उडान र एक चार्टर्ड उडान गर्ने गरी शर्तसहित नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको हो।

मन्त्रालयले नियमित उडान गर्दा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएका यात्रु मात्रै ल्याउन पाइनेछ। तर मन्त्रालयले राखेको शर्त पूरा नगरी एउटै उडानमा पीसीआर टेस्ट गरेको र नगरेको यात्रुहरु कुनै वायुसेवाले मिसाएर ल्याएको पाइएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुहरुलाई सात दिन होटल क्वारेन्टिनमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्नेछ।

त्यस्तै कूटनैतिक नियोगमा कार्यरत कर्मचारीहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघका नियोगहरुमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउन पाइनेछ।

पीसीआर नेगेटिभ भएका सबै यात्रुहरु नेपाल आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। यी यात्रुहरुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले गर्ने मन्त्रालयले जारी गरेको शर्तमा उल्लेख रहेको छ।

कोभिडको महामारी विश्वभर फैलिएको भन्दै गत चैत ९ गतेदेखि नियमित हवाइ उडान बन्द भएको थियो।

मन्त्रालयले राखेका १२ बुँदे शर्त यस्ता छन्

१‍ उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएका यात्रु मात्रै ल्याउन पाइनेछ। पीसीआर नेगेटिभ भएको सुनिश्चितता गरी मात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास उपलब्ध गराउनुपर्नेछ।

एउटै उडानबाट पीसीआर नेगेटिभ भएका सबै यात्रुहरु नेपाल आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ। यी यात्रुहरुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले गर्नेछ। साथै यात्रुहरुले आफ्नो स्वास्थ्य स्थितिको जानकारी सम्बन्धित स्थानीय तह र स्थानीय तह कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई गराउनुपर्नेछ।

नियमित उडानमार्फत आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको अनलाइन फर्म भरेर सोको बारकोड वा प्रिन्टकपी साथमा लिई आउनुपर्नेछ। कुनै कारणवश त्यस्तो फर्म भर्न छुट भएको रहेछ भने सम्बन्धित वायुसेवाले अनबोर्ड गर्दाकै अवस्थामा त्यस्तो फारम यात्रुलाई उपलब्ध गराउनुपर्नेछ।

४‍ एउटै उडानमा पीसीआर टेस्ट गरेको र नगरेको यात्रुहरु मिसाएर ल्याउन पाइनेछैन। कुनै वायुसेवाले मिसाएर ल्याएको पाइएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुहरुलाई सात दिन होटल क्वारेन्टिनमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्नेछ।

नियमित उडानमा पीसीआर परीक्षण नगराएका, पीसीआर पोजेटिभ भएका वा नेपाल सरकारले जारी गरेको अन्य शर्त वा आदेश पूरा नगरेका कुनै यात्रु लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा संस्थालाई प्रचलित कानुनबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले कारबाही गर्नेछ। साथै त्यसरी ल्याएका यात्रुको खर्च वायुसेवाले व्यहोर्नुपर्नेछ।

कूटनैतिक नियोगमा कार्यरत कर्मचारीहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघका नियोगहरुमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउन पाइनेछ। सम्बन्धित वायुसेवा बोर्डिङ पास दिँदा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचय र पासपोर्ट समेत जाँच गर्नुपर्नेछ। कन्सुलर विभागले जारी गरेको परिचयपत्र नभएमा माथि उल्लिखित निकायले जारी गरेको परिचयपत्रलाई आधार लिन सकिनेछ।

बुँदा ६ बमोजिम नेपाल आउनुपर्ने कूटनैतिक कर्मचारी, पदाधिकारी तथा तिनका परिवारको भिसाको हकमा अध्यागमन विभागले जारी गरेको निर्देशनअनुरुप हुनेछ।

कूटनैतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलोपटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टको आधारमा जाँच गर्नुपर्नेछ।

नेपाल आउने यात्रुको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्छ।

१० अन्य विषय नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम हुनेछ।

११ जिल्ला कोभिड१९ सकट व्यवस्थापन केन्द्रबाट होटल क्वारेन्टिनका लागि सूचीकृत होटलहरुको विवरण पर्यटन विभागको वेबसाइट र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको बेबसाइटमा हेर्न सकिनेछ।

१२ नेपाल सरकारबाट नियमित उडान रोक्ने गरी कुनै निर्णय भएमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वजानकारी दिई वा नदिई जुनसुकै बेला पनि उडानहरु स्थगित गर्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .