कारोबार


कोरोना संकटमा पनि चीनबाट आयो साढे १३ अर्ब लगानी प्रतिबद्धता, साउनमा मात्रै ६ अर्ब

कोरोना संकटमा पनि चीनबाट आयो साढे १३ अर्ब लगानी प्रतिबद्धता, साउनमा मात्रै ६ अर्ब

सन्तोष न्यौपाने
भदौ ४, २०७७ बिहिबार १२:४६,

मुलुक पछिल्लो पाँच महिनादेखि कोरोना भाइरस संक्रमण र लकडाउनको चपेटाबाट गुज्रिरहेकोे बेला छिमेकी देश चीनले ठूलो स्तरको लगानी गर्ने गरी रुचि देखाएको छ। पछिल्लो चार महिनामा मात्र चीनबाट १३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको लगानी गर्ने प्रतिबद्धता आएको हो।

जब कि यही समयमा आठ मुलुकबाट आएको कुल लगानीको प्रतिबद्धता १५ अर्ब २० करोड रुपैयाँ मात्र छ। विदेशी लगानी स्वीकृति गर्ने निकाय उद्योग विभागको तथ्यांकअनुसार चीनबाट वैशाखदेखि साउनसम्म १३ अर्ब ५१ करोड ९० हजार रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको छ।

पछिल्लो चार महिनामा आएको लगानीमध्ये झण्डै आधा साउन महिनाको २२ दिनमा आएको छ। विभागको तथ्यांकअनुसार साउन महिना (साउन १ देखि २२ गतेसम्म)मा मात्र ५ अर्ब ९० करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

साउन महिनामा २८ परियोजनाको लागि उक्त लगानी आएको विभागका वैदेशिक लगानी शाखाका निर्देशक उदन गुप्ताले बताए। वैशाख र जेठ महिनामा ७ अर्ब ५५ करोड २० लाख रुपैयाँको प्रतिबद्धता आएको छ भने असारमा ५ करोडबराबरको लगानी आएको छ।

नेपालमा चीनको महत्वाकांक्षी योजना बीआरआईअन्तर्गत विभिन्न परियोजना सञ्चालित छन्। ती परियोजना सञ्चालन भइरहेको कारणले पनि चीनको लगानी धेरै आएको हुनसक्ने जानकारहरु बताउँछन्।

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले पनि बीआरआई प्रोजेक्टअन्तर्गत धेरै परियोजना सञ्चालन भएकाले चीनको लगानी आकर्षित भइरहेको हुनसक्ने बताए। चीनबाट आएका लगानीमा जलविद्युत्, पर्यटन र सेवा क्षेत्रमा धेरै रहेको उनले बताए।

‘चीनबाट हाइड्रो, पर्यटन र सेवा क्षेत्रमा धेरै लगानी आएको छ’, भुसालले नेपालखबरसँग भने, ‘नेपालमा धेरै चिनियाँ लगानीकर्ताले पयर्टन क्षेत्रमा लगानी गरेका छन्।’

चीनले ससाना होटलदेखि जलविद्युत् क्षेत्रमा लगानी गरेका छन्। चीनबाट आएको धेरै लगानी सानो क्षेत्रमा रहेको भुसालको भनाइ छ। सरकारले लगानी सम्मेलनमार्फत लगानीको लागि आह्वान गरेको थियो। उक्त आह्वानबाट पनि छिमेकी देशबाट लगानी आउने क्रम बढेको छ।

उक्त चार महिनामा चीनबाट आएको साढे १३ अर्बभन्दा धेरै लगानीबाट ७२ वटा परियोजना सञ्चालन हुने प्रतिबद्धता छ। वैशाख र जेठमा ४३, असार १ र साउन २८ वटा परियोजनाको लागि लगानी आएको हो। केही समयअघिसम्म नेपालमा आउने लगानीमध्ये भारतबाट उच्च हुने गथ्र्यो। जुन पछिल्लो समय चीनबाट हुनथालेको छ।

पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने पनि भारतबाट आएको लगानीको प्रतिबद्धता चीनको भन्दा न्यून छ। पछिल्लो चार महिनामा भारतबाट नेपालमा आएको लगानी प्रतिबद्धता २० करोड १२ लाख रुपैयाँ मात्र छ।

साउन महिनामा १० करोड बराबरको लगानी २ परियोजनाको लागि र वैशाख र जेठमा १० करोड १२ लाखको प्रतिबद्धता अर्को २ वटा परियोजनाको लागि आएको हो। भारतमा लगानीको लागि ‘नेवर फस्र्ट’ अर्थात् छिमेकीलाई प्राथमिकता राख्ने भन्ने नीति छ। छिमेकी देशहरुबाट लगानी प्रतिबद्धता धेरै आउनु स्वाभाविकै भएको भुसालको भनाइ छ। ‘भारतबाट ठूलास्तरका परियोजनामा धेरै लगानी आउने गरेको छ’, उनले भने।

चार महिनामा ८ देशबाट १५ अर्ब २० करोडको लगानी
मुलुकमा कोरोना संकटको अवधिमा चीनबाट आएजस्तो प्रतिबद्धता अन्य देशबाट आउनसकेको छैन।

नेपालमा चार महिनाको अवधिमा ८ देशबाट १५ अर्ब २० करोड ९९ लाखको लगानीको प्रतिबद्धता आएको छ। यसमध्ये साढे १३ अर्बको चीनको मात्रै छ।

चीनसहित भारत, मलेसिया, नेदरल्याण्ड, युएई, अमेरिका, दक्षिण कोरिया र बेलायत छन्।

साउन महिनामा चीन, भारत, दक्षिण कोरिया र बेलायतबाट लगानीको प्रतिबद्धता आएको छ। यस महिनामा बेलायतबाट १० करोड र दक्षिण कोरियाबाट ५ करोडको लागनी प्रतिबद्धता आएको छ।
साउन महिनामा ६ अर्ब १५ करोडको लगानी यी देशबाट आएको छ। जसमा चीनको मात्रै ५ अर्ब ९० करोड छ।

वैशाख र जेठमा युएईबाट १ अर्ब ५ करोड, नेदरल्याण्डबाट १४ करोड ३० लाख र अमेरिकाबाट १० करोड लगानी प्रतिबद्धता आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad