कारोबार


उपत्यकामा तीन वर्षभित्र मोनोरेल, दुई वर्षभित्र प्राविधिक विद्यालय

उपत्यकामा तीन वर्षभित्र मोनोरेल, दुई वर्षभित्र प्राविधिक विद्यालय

नेपालखबर
साउन ५, २०७६ आइतबार ७:४,

काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षभित्र मोनोरेल सञ्चालनमा ल्याइसक्ने कार्ययोजना तय गरेको छ। काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीन वर्षभित्र मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो।

काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेगा हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए।

त्यसैगरी काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्षबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ। प्रवक्ता डंगोलले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारका लागि आगामी दुई वर्षभित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए। ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि सञ्चालनमा ल्याउने महानगरपालिकाको योजना छ । त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताए।

महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यसमा बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटेको छ। त्यसैगरी सहरको मुख्य–मुख्य चोकहरुमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हाईमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी तय गरिएको पनि प्रवक्ता डंगोलले बताए।

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’को अवधारणा तय गरी कार्यान्वयनमा ल्याउन थालिएको छ। प्रवक्ता डंगोलका अनुसार त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको छ। काठमाडौंको प्रदूषण नियन्त्रणका लागि साइकल लेनको व्यवस्था गर्ने, भेहिकल सफाइ केन्द्रहरुको स्थापना गर्ने पनि महानगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। प्रदुषण नियन्त्रणका लागि हरियाली प्रर्वद्धनको कामलाई पनि नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ। यी सबै कामका लागि लागि महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटको पनि व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad