कारोबार


नेपालबाट दुई दर्जन विदेशी कम्पनीले लगे ८ अर्ब ८६ करोड

नेपालबाट दुई दर्जन विदेशी कम्पनीले लगे ८ अर्ब ८६ करोड

दीपक भट्ट
साउन २८, २०७७ बुधबार ११:४४,

कोरोनाले पिरोलेको वर्ष नेपालमा लगानी गरिरहेका विदेशी कम्पनीहरुले लाभांशबापतको झण्डै नौ अर्ब रुपैयाँ विदेश लगेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार २४ विदेशी कम्पनीले नेपालबाट आठ अर्ब ८६ करोड रुपैयाँ विदेश लगेका हुन्। यसरी लाभांश लैजानेमा बहुराष्ट्रिय तथा साझेदारीमा नेपालमा व्यवसाय गरिरहेका कम्पनी छन्।

यो वर्ष कोरोनाले व्यावसायिक गतिविधि ठप्प भएपछि देशकै अर्थतन्त्र धराशायी भएको छ। उद्योगहरुले गर्ने नाफा घटेको छ भने संक्रमणले प्रभावित सबैजसो नेपाली उद्योगहरु पुनर्कर्जा तथा सहुलियत कर्जाको जोहो गर्न बैंकहरुमा आवेदन दिन थालेका छन्।

स्वदेशी उद्योगहरुले नाफाबापतको पैसा पुनर्लगानी तथा आगामी दिनमा व्यवसाय सञ्चालनमै खर्च गर्ने मनसाय बनाइरहँदा विदेशी कम्पनीले भने व्यवसायमा आर्जन गरेको नाफा लगेका हुन्।

यसरी लाभांश र रोयल्टीबापतको रकम लैजाने कम्पनीहरुको संख्या ४९ छ। त्यसमध्ये २४ वटाले लाभांश र २५ वटा कम्पनीले रोयल्टीबापतको रकम विदेश लगेका छन्।

यही साउन ७ गतेसम्मको राष्ट्र बैंकको तथ्यांकअनुसार लाभांशबापतको ८ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ र रोयल्टीबापतको २ अर्ब १७ करोड रुपैयाँ १६ वटा देशमा पुगेको हो।

लाभांश लाने कम्पनीहरुमा जलविद्युत्, खाद्य, टोबाको, पेन्ट्स उद्योगलगायत छन्। त्यसैगरी नेपालबाट रोयल्टी लानेहरुमा धेरैजसो लिकर (मदिरासम्बन्धी) उद्योगहरु छन्। तिनमा नेपाल लिक, गोर्खा बु्रअरीजस्ता उद्योगहरुबाट धेरै परिमाणमा रोयल्टी बाहिरिएको छ।

तथ्याङ्कअनुसार गत वर्षको तुलनामा गत आवमा बाहिरिएको रोयल्टी तथा लाभांशबापतको रकम भने कम हो। गत आवको अन्त्यतिर कोरोना फैलिएपछि व्यवसाय ठप्प हुँदा कम्पनीहरुको नाफामा प्रभाव परेको कारण अघिल्लो वर्षभन्दा न्यून रकम बाहिरिएको हो।

गत वर्ष २६ कम्पनीले २७ अर्ब ७८ करोड २९ लाख ९४ हजार ९ सय ७० रुपैयाँ लाभांश विदेश लगेका थिए।

उक्त वर्ष डाबर नेपाल, युनिलिभर, कोका–कोला, अर्घाखाँची सिमेन्ट, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंक, निर्धन उत्थान लघुवित्त, नेपाल बंगलादेश बैंकलगायतबाट उक्त लाभांश बाहिरिएको थियो।

लाभांश रकम वर्षमा एक पटकभन्दा धेरै लान पाउने भएकोले गत वर्षको नाफा पनि आगामी दिनमा लान पाइन्छ। उनीहरुले आगामी दिनमा पनि नाफा लानसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

गत आवमा एक अर्बभन्दा बढी लाभांश रकम लाने कम्पनीहरु ३ वटा मात्रै छन्। तिनमा हिमाल पावर कम्पनी (३ अर्ब), जोन्सन एण्ड निकोल्सन (१ अर्ब) र सूर्य नेपाल (५ अर्ब रुपैयाँ) छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad