समयमै रासायनिक मल नपाउँदा यस वर्ष किसानले थप सास्ती खेप्नु परेको छ।
प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मल अभाव हुँदा अहिले यहाँका किसान चिन्तित भएका छन्।
‘यतिबेला धान टप ड्रेसिङ गर्ने (झार गोडमेल गरी मल हाल्ने) समय हो। तर, यही समयमा तीन वटै प्रदेशमा यूरिया अभाव छ’, कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, भैरहवाका सूचना अधिकृत गणेशप्रसाद घिमिरेले जानकारी दिए।
कृषि सामग्री भैरहवा कार्यालयले प्रदेश पाँचसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा मल आपूर्ति गर्दै आएको छ।
अहिले तीनवटै प्रदेशमा एक बोरा पनि यूरिया छैन। ‘किसानले धान बालीमा तीनपल्ट यूरिया राख्छन्, अहिले पहिलोपल्ट राख्नलाई समेत मल छैन’, उनले भने, ‘तत्काल आउने अवस्था पनि छैन।’
सरकारले जीटूजी (सिधै सरकार–सरकार मार्फत्) प्रक्रियाबाट खरिद नगरी ग्लोबल टेण्डरमार्फत् मल खरिद गर्याे। त्यसमा पनि प्रक्रियागत ढिलाईले यूरिया अभाव भएको हो।
कृषि प्राविधिकका अनुसार खासगरी धानमा तीन पटकसम्म रासायनिक मल प्रयोग गर्नुपर्छ।
डीएपी, यूरिया र पोटास प्रतिकठ्ठा ३-२-१ को अनुपातमा समिश्रण गरी प्रयोग गर्नुपर्छ। जसले उत्पादन र उत्पादकत्व बढाउँछ। धानको उत्पादन बृद्धि गर्नका लागि रोप्नुपूर्व डीएपी र पोटास खेतमा हाल्नुपर्छ।
कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय भैरहवास्थित खाली गोदाम। तस्बीरः प्रकाश न्यौपाने
पोटासले किरा मार्न र माटो खुकुलो पार्न मद्धत गर्छ। धान रोपेपछि कम्तिमा तीन पटक यूरिया प्रयोग गर्नुपर्छ। यूरिया धान रोपेपछि १५-२० दिनपछि पहिलो पटक र दोस्रोपटक त्यसको ठीक २० दिनपछि एवं तेस्रोपटक धान पोटाउने बेला प्रयोग गर्नुपर्छ। जसले गर्दा उत्पादन निकै राम्रोगरी बढाउँछ।
‘अहिले धानमा मल राख्ने पहिलो टप ड्रेसिङ गर्ने बेला हो, यहीबेलै मल अभाव भयो। किसानहरु दैनिकजसो कार्यालय आउने गरेका छन्। मल आयात नै नभएपछि हामीले बाध्य भएर उनीहरुलाई रित्तै फर्काउनु परेको छ,’ घिमिरेले भने। यस वर्ष समयमै पानी परेकाले धान रोपाइँ छिटो भयो। छिटो धान रोपेको ठाउँमा दोस्रोपल्ट र अलि ढिला धान रोपेको ठाउँमा पहिलोपल्ट यूरिया राख्ने समय भएको छ।
कृषि सामग्री कम्पनीसँग र तीनवटै प्रदेशका अन्य ठाउँमासमेत डीएपी र पोटास भने भण्डारण बाँकी छ।
धानमा राख्ने समयमा यूरिया नहुँदा किसानले भारतीय बजारबाट महंगो र कम पोषकतत्व भएको मल ल्याउन बाध्य छन्। अर्काेतर्फ भारतमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरस पनि सँगसँगै भित्रिने खतरा उत्तिकै छ।
सीमामा जतिसुकै कडाई गरे पनि लुकीछिपी भए पनि भारतसँग सीमा जोडिएका जिल्लाहरुमा किसानले यूरिया ल्याउने गरेका छन्।
रोहिणी गाउँपालिका २ का कृषक भरत चौहानले मल अभावले आफूहरु भारतीय बजारबाट मल ल्याएर प्रयोग गर्न बाध्य भएको बताए।
पर्याप्त मल नपाइएकाले अवैधानिक रुपमा भारतीय बजारबाट खरिद बढ्दो छ। अवैधानिक रुपमा भारतबाट आयात गरिएको गुणस्तर र पोषकतत्व कम भएको मलले उत्पादनमा ह्रास आउन थालेको भन्दै कृषि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
गैडहवाका किसान नारादमुनी यादवले समयमै मल नपाउँदा धान उत्पादन घट्ने बताए। ‘समयमै पानी पर्याे, रोपाइँ भयो। यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने सोंचेका थियौं। तर मल नपाउँदा उत्पादन बढ्ने नभई घट्ने भयो’, उनले भने, ‘प्रत्येक वर्ष यस्तै सास्ती पाइरहेका छौं। राज्यले कहिल्यै किसानका दुःख बुझेन।’
कार्यालयकाअनुसार धानको मौसम बैशाख, जेठ र असार गरेर भैरहवामा अघिल्लो आर्थिक वर्ष ०७६-०७७ मा ५ हजार ४ सय ७४ मेट्रिक टन यूरिया आयात भएको थियो। तर, उक्त यूरिया तत्कालै सकियो।
अहिले भने आयात नै भएको छैन। प्रादेशिक कार्यालयमा डीएपी १ हजार ४० र पोटास ७ सय ८१ मेट्रिक टन स्टक छ। डीएपी २ हजार ४ सय मेट्रिक टन केही दिनभित्रै आउने छ। यूरिया भने कहिले आयात हुन्छ भन्ने निश्चित छैन।
पश्चिमाञ्चलका लागि रसायनिक मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय भैरहवा र साल्ट ट्रेडिङ्ग कम्पनीले आपूर्ति गर्दै आएका छन्।
नेपालमा प्रत्येक वर्ष ७ लाख मेट्रिक टन मल आवश्यक पर्ने भए पनि सरकारले ३–४ लाख मात्रै आपूर्ति गर्दै आएको छ।
बाँकी आवश्यक मल कतिपय किसानले लुकीछिपी भारतीय बजारबाट खरिद गरे पनि अधिकांशले खेतमा मल हाल्नै पाउँदैनन्। यसले गर्दा उत्पादन बढ्न सकेको छैन।

प्रतिक्रिया