ad ad

समाज


काली गण्डकीको कटानले बेनीबजार जोखिममा

काली गण्डकीको कटानले बेनीबजार जोखिममा

नेपालखबर
साउन २५, २०७७ आइतबार ४:४५,

काली गण्डकी नदीको कटानका कारण म्याग्दी सदरमुकाम बेनीबजार जोखिममा परेको छ।

कटान रोकथामका लागि नदी किनारमा निर्माण गरिएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि बेनीबजारमा जोखिम बढेको हो। करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ।

नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले बताए।

गत वर्ष रुपाताल एकीकृत संरक्षण परियोजनाले उपभोक्ता समितिमार्फत निर्माण गरेको तटबन्ध बाढीले भत्काएको हो। यसअघि सो ठाउँमा निर्माण भएको पक्की पर्खाल ०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो।

बाढीको कारण गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ। तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको स्थानीयले बताएका छन्।

कटान रोकथामका लागि रुपाताल एकीकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम शुरु गरिने बेनी नगरपालिका-८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए। कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावियन पर्खाल निर्माणको काम भइरहेको छ।

यसैबीच बेनी नगरपालिका-८ क्याम्पसचोकका बासिन्दा बाढीको त्रासमा छन्। बस्तीमाथिको पाखोबाट बाढी आउन थालेपछि सदरमुकाम बेनीको मुख्य बजार क्षेत्र क्याम्पसचोक जोखिममा परेको हो।

यसअघिका दुई वर्ष रोकिएको बाढी यसपालि आउन थालेपछि त्रास बढेको स्थानीय रवि शर्माले बताए। पाखोबाट ढुङ्गा, माटो र काठका टुक्रासहित आउने बाढीले नाली पुरिएको छ। नाली फुटेपछि सडक हिलाम्मे हुने, घर र पसलभित्र पसेर सामान नष्ट गर्ने गरेको छ।

बाढीबाट क्याम्पसचोकका १२७ घरधुरी प्रभावित भएका छन् । बेनी नगरपालिका र विभिन्न निकायबाट ग्यावियन जाली र वृक्षरोपण गरेपछि २०७५ र २०७६ को बर्खामा बाढी आएको थिएन।

यसपालि दुईपटक बाढी आइसकेको छ। अर्थुङ्गेस्थित सेनाको ब्यारेक तलको घुम्तीबाट सडकको नालीबाट आउने बाढी पाखोमा पहिरो गएपछि आयतन बढेर आएपछि क्याम्पसचोकमा डुबान हुने गरेको छ। क्याम्पसचोकको बाढीको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयवासी तथा व्यवसायीले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .