कारोबार


एसियाली सेयर बजारमा सामान्य गिरावट, सुनको मूल्य प्रतिऔंस २ हजार ८१ डलर पुग्याे

एसियाली सेयर बजारमा सामान्य गिरावट, सुनको मूल्य प्रतिऔंस २ हजार ८१ डलर पुग्याे

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ९:१,

अधिकांश एसियाली सेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ। संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनावका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले सेयर बजारमा असर परेको हो।

एपीका अनुसार लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन्। यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ।

अमेरिकी सेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन्। अमेरिकी संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने गरी एक सम्झौतामाथि छलफल भइरहेको छ।

एसियाली सेयर बजारमा भने कोरोनाभाइरसको संक्रमण बढेसँगै थप असर परेको देखिएको छ। खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो ।

सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु हुने खतरा रहेको बताए। उनले चीन–अमेरिका व्यापार तनाबले समस्या अरु बढाएको बताए।

जापानको सेयर बजार निक्की ०.६ प्रतिशतले घटेर २२ हजार २७३ विन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.२ प्रतिशत, हङकङको हाङसेङ १.८ प्रतिशत तथा चीनको साङ्घाई कम्पोजिट १.२ प्रतिशतले घटेका छन् ।

टोयोटा मोटर कर्पको सेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको शेयर पनि २.३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै सेयर मूल्य बढेको हो ।

गएराति अमेरिकी डाउजोन्स पनि ०.७ प्रतिशतले वृद्धि भइ २७ हजार ३८७ विन्दुमा पुगेको थियो । नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ विन्दुमा अडिएको थियो ।

अमेरिकामै गत साता करिब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ। अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी अर्थशास्त्रीहरुले सोचेझैं यो त्यति खराब अवस्था नरहेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अरु बढेको छ। सुनको मूल्य १२ डलरले वृद्धि भई प्रतिऔंस २ हजार ८१ डलर पुगेको छ ।

बेन्चमार्क अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १२ सेन्टले घटेर ४१.८३ डलरमा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा कारोबार भएको छ। ब्रेन्ट कच्चा तेलमा भने प्रतिब्यारेल १० सेन्ट वृद्धि भई प्रति ब्यारेल ४४.९० मा कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad