बुद्ध होलिडेजले सस्तो आकर्षक होलिडे प्याकेज ल्याएको छ।
लकडाउनले पर्यटन क्षेत्र शिथिल बनेको बेला आन्तरिक पर्यटनलाई बढावा दिन कम्पनीले उक्त प्याकेज ल्याएको हो।
अहिलेको स्थितिलाई चलायमान बनाउनका लागि बुध्द होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको कम्पनीको भनाइ छ। बुद्ध एयर, पोखरा तथा चितवनका होटलहरुको सहकार्यमा प्याकेज ल्याइएको हो। बुद्ध होलिडेज बुध्द एयरको भगिनी संस्था हो।
अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ। यसलाई अक्षरशः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरका लागि बुद्ध होलिडेजले अनुरोध गरेको छ।

सहयोगी कम्पनीहरुले पनि कोभिडविरुद्धका सुरक्षा निर्देशिका जारी गरी पूर्वअभ्यास पनि गरिसकेको छ। निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेष्टुरेण्ट तथा त्यहाँ रहेको कामदारलाई पनि समेटेको होलिडेजकी सीईओ आस्था बस्नेतले बताइन्।
उनले भनिन्, ‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील रहेका छौं र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्ने छौँ।’
दुई रात तीन दिने पोखरा प्योकजको मूल्य जम्माजम्मी ५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। यसमा दुईतर्फी हवाइ टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ।
यसैगरी चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य जम्माजम्मी ७ हजार ९ सय ९९ रुपैयाँ छ। यसमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ।
यसको मुख्य उद्देश्य सुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवर्द्धन गरी कम्पनीका सेवा सुरक्षित छन् भन्ने देखाएर विदेशी पर्यटक भित्र्याउनु रहेको सीईओ बस्नेतले बताइन्।
यो योजना सीमित अवधिभरका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया