कारोबार


सुनचाँदीको मूल्य निर्धारण वैज्ञानिक बनाउन महासंघले माग्यो सुझाव

सुनचाँदीको मूल्य निर्धारण वैज्ञानिक बनाउन महासंघले माग्यो सुझाव

नेपालखबर
साउन ७, २०७७ बुधबार ९:३६,

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदीको दैनिक मूल्य निर्धारण वैज्ञानिक एवं पारदर्शी बनाउन आम उपभोक्तासँग सुझाव मागेको छ।

महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उप–सचिव देवीप्रसाद थपलियाको संयोजकत्वमा सुनचाँदीको दैनिक मूल्य निर्धारण सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको जानकारी दिँदै सुझाव माग गरेको हो। सरकारले गठन गरेको सो समितिमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघसमेत सदस्य छ।

महासंघका अनुसार विगत १० वर्ष देखि कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरु मार्फत सुनको पैठारी हुँदै आएको र चाँदीको आयात भने खुला रहेको छ। बैंक मार्फत पैठारी हुने सुनको थोक विक्री नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने परिपाटी रहेको छ।

आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा पर्नु स्वाभाविक रहेको भन्दै यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी महासंघले बैंकबाट खरीद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

‘आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कायम नगरेको र कतिपय संस्थाले ‘आधिकारिक मूल्य’ भन्दै बैंकको आधार–मूल्य भन्दा पनि कम रकमको दैनिक खुद्रा मूल्य तोकेर बजारलाई अराजक बनाएको विगतको अभ्यास पनि हाम्रो सामू छ’ महासंघले भनेको छ, ‘तसर्थ मूल्य निर्धारण कार्यलाई बैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्न अवलम्बन गरिनु पर्ने विषयहरु बारे आ–आफ्ना सुझावहरु दिई सहयोग गर्नु हुन आवद्ध सदस्य संस्थाहरु, गहना व्यवसायीहरु, आम उपभोक्ता एवं संचारजगतमा यस महासंघ विनम्र अनुरोध गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad