कारोबार


सेयरबजारमा सर्किट ब्रेकपछि आजको कारोबार बन्द

सेयरबजारमा सर्किट ब्रेकपछि आजको कारोबार बन्द

नेपालखबर
साउन ४, २०७७ आइतबार ७:५७,

आइतबार बजार खुल्नासाथ अत्यधिक अंकले सूचक नेप्से बढेपछि सेयरबजारमा सर्किट ब्रेक लागेको छ। ११ बजे खुलेको बजारमा ११ः२७ मा नेप्से ५ प्रतिशत बढीले उकालो लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसयता नेप्से ६.०४ प्रतिशतले बढेपछि आजको लागि कारोबार नै बन्द भएको छ। नेप्से ८४.२६ अर्थात् ६.०४ प्रतिशतले बढेकाे दिन ६ करोड २५ लाखको मात्रै कारोबार भएको छ। आज कुल १ सय ११ कम्पनीको १ लाख ८० हजार कित्ता सेयर बिक्री भएका छन्। उक्त कारोबारमा ६ सय ६३ पटक सेयर खरिदबिक्री भएका हुन्। त्यस्तै १० समूहको कारोबार सूचकमध्ये ९ वटाको हरियो तथा एउटाको रातो छ।

आज पनि जीवन बीमाको सर्वाधिक ५४८.६६ अंकले उकालो लागेको छ। आज पाँचवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४१ लाखको सर्वाधिक कारोबार भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि १७.३९ अंकले अर्थात् ५.८९ प्रतिशतले बढेको छ।

यस्तो छ सर्किट ब्रेक हुने अवस्था
स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ। यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन्। बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो।

प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ। डिबेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ।

यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad