कारोबार


टेलिकमको नयाँ पोस्टपेड सिम ५ सय रुपैयाँमै किन्न सकिने

टेलिकमको नयाँ पोस्टपेड सिम ५ सय रुपैयाँमै किन्न सकिने

नेपालखबर
साउन १, २०७७ बिहिबार १५:५४,

नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु बिहीबारदेखि नै लागू भएका छन् ।

कम्पनीका अनुसार नेपाल सरकारको निर्णयानुसार साउन १ देखि लागू हुने गरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलोपटक सिम खरिद गर्दा लागू भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब नलाग्ने भएको छ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागू हुने कम्पनीले जनाएको छ । सोअनुसार हाल नयाँ सिमकार्ड लिनका लागि ९ सय ४५ रुपैयाँ लाग्ने गरेकोमा अब ५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिनेछ ।

५ सय रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट रहनेछ । पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि)बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागू हुने कम्पनीको भनाइ छ ।

साथै कम्पनीले पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाएको छ । यसअन्तर्गत बेसिक प्याक ३ सय ८४ रुपैयाँमा, प्रिमियम प्याक ७ सय ४९ रुपैयाँमा, गोल्ड प्याक ९ सय ९९ रुपैयाँ, डायमन्ड प्याक १ हजार ४ सय ९९ रुपैयाँमा र प्लाटिनम प्याक २ हजार ४ सय ९९ रुपैयाँमा मा खरिद गर्न सकिन्छ ।

यसैगरी कम्पनीले फाइबर टु द होम अर्थात् एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ । डाटा प्याकअन्तर्गत २० एमबीपीएसको एक महिनाको प्याक १ हजार २ सय रुपैयाँमा, तीन महिनाको ३ हजार ६ सय रुपैयाँ र १२ महिनाको १४ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस्तै ५० एमबीपीएसको एक महिनाको प्याक १ हजार ८ सय रुपैयाँमा, तीन महिनाको ५ हजार ४ सय रुपैयाँ र १२ महिनाको २१ हजार ६ सय रुपैयाँ उपलब्ध हुनेछ। यसैगरी कम्बो प्याकअन्तर्गत १५ एमबीपीएसको एक महिनाको प्याक एक हजार रुपैयाँमा, तीन महिनाको ३ हजार रुपैयाँमा र १२ महिनाको १२ हजार रुपैयाँ उपलब्ध हुनेछ।

२५ एमबीपीएसको एक महिनाको प्याक १ हजार ५ सय रुपैयाँमा, तीन महिनाको ४ हजार ५ सय रुपैयाँमा र १२ महिनाको १८ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक २ हजार, तीन महिनाको ६ हजार र १२ महिनाको २४ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रत्येक कम्बो प्याकअन्तर्गत एक महिनाको प्याकमा २ सय ५० मिनेट, तीन महिनाको प्याकमा ७ सय ५० मिनेट र १२ महिनाको प्याकमा ३ हजार मिनेट भ्वाइस सेवा समावेश गरिएको छ ।

यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ । यी प्याकहरु ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर तथा स्टार १४१५ ह्याक्स डायल गरेर पनि प्राप्त गर्न सकिन्छन् । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १ सय एमबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad