कारोबार


कोरोना प्रभावः भैरहवा भन्सारको राजश्व असुलीमा ३० प्रतिशतले गिरावट

कोरोना प्रभावः भैरहवा भन्सारको राजश्व असुलीमा ३० प्रतिशतले गिरावट

प्रकाश न्यौपाने
साउन १, २०७७ बिहिबार ११:५४,

कोरोना भाइरसको प्रत्यक्ष प्रभाव अन्य क्षेत्रमा जस्तै राजश्व असुलीमा पनि परेको छ। मुलुकको दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले कोरोना पछि आयात–निर्यातमा गिरावट आउँदा राजश्व लक्ष्य पूरा गर्न सकेन।

आर्थिक वर्ष २०७६÷०७७ मा भन्सार विभागले कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख रुपैयाँ राजश्व लक्ष्य तोकेको थियो। तर, भन्सार कार्यालयले ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए। भन्सारले उठाएको राजश्व विभागले तोकेको लक्ष्यभन्दा करिब ३० प्रतिशतले कमी हो।

‘हामीले आवको लक्ष्य भेट्टाउने गरी भन्सार परिसरबाट हुने आयात–निर्यातको चेकजाँचलाई कडाई गरेका थियौं तर कोराना भाइरसका कारण आयात–निर्यातमा गिरावट आउँदा राजश्व लक्ष्य पूरा हुन सकेन’, सूचना अधिकृत लम्सालले भने।

लम्सालकाअनुसार चैत ११ पछि मुलुकमा लकडाउन भएकाले दैनिक राजश्व असुली ह्वात्तै घटेको छ।

bhairawa-3.jpg

‘लकडाउनको समयमा दैनिक राजश्व असुली १६ करोड रुपैयाँको हाराहारीले गिरावट आएको छ। लकडाउन हुनुभन्दा अघि दैनिक २४ करोड रुपैयाँसम्म राजश्व संकलन हुँदै आएको थियो, लकडाउनपछि असुली दर घटेर ८ करोडमा सीमित भएको छ’, उनले भने, ‘यसले पनि असुली दर धेरै गिरावट भएको हो।’

खासगरी राजश्व असुली बढी हुने मालवस्तु आयात लकडाउनपछि गिरावट भएको भन्सार तथ्यांकले देखाउँछ। लकडाउनपछि नेपाल–भारत सीमा क्षेत्र बन्द हुँदा दैनिक उपभोग्य सामाग्री आयातमा निकै कमी आएको छ।

‘उपभोग्यवस्तुबाटै दिनुहँ करोडौं रुपैयाँ संकलन हुन्थ्यो। नाका बन्द भएपछि आउजाउ ठप्प भयो। आउजाउ नभएपछि खरिदबिक्री पनि भएन र राजश्व प्रभावित भयो’, सूचना अधिकृत लम्सालले भने।

तथ्यांकअनुसार लकडाउन भएयता बेलहिया नाका हुँदै भारतलगायत तेस्रो मुलुकबाट आयात हुने डिजल पेट्रोल, औद्योगिक कच्चा पदार्थ, मोटर पार्ट्स, हार्डवेयर, मोटरसाइकल, एमएस विलेट, ग्लेज टाइल, मार्बल स्ल्याव, पत्थर कोइला, सिंगल क्याव पिकअप गाडी, खरानी स्याल्याव, तयारी कपडा, जर्दाखैनी, रेफ्रिजेरेटर, ग्लाससिट, डोजर स्काभेटर, मिनी ट्रक, जिप, कार, भ्यान, क्लिंकर, विद्युतीय जेनेटर, माइक्रो बस लगायतको आयातमा निकै गिरावट आएको छ।

‘लकडाउनको अवधिमा चामल लगायतका खाद्यान्न भने अघिल्लोे वर्षको तुलनामा बढी आयात भएको छ। राजश्व संकलनका महत्वपूर्ण वस्तु आयात घटेको छ’, उनले भने।

bhairawa01.jpg

कोरोना भाइरसको प्रभाव अझै पनि यथावत नै छ। सरकारले लकडाउन केही खुकुलो गराए पनि नेपाल–भारत सीमामा आउजाउ भएको छैन। यसले गर्दा उपभोक्ताहरु खरिदारीका लागि सीमा क्षेत्रका भारतीय बजार जाने गरेका छैनन्। लकडाउन कहिलेसम्म कायमै रहन्छ र सीमामा यही मितिबाट आउजाउ हुन्छ भन्ने यकिन नभएकाले आगामी वर्षको राजश्व असुली पनि प्रभावित हुनसक्ने भन्सार कार्यालयको आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad