कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ३१ देखि उद्धार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सीसीएमसीले साउन ६ गतेसम्म ४० बढी उडान गर्ने तालिका सार्वजनिक गरेको हो।
संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले खाडी मुलुकबाट ४० बढी उडानमार्फत नेपाली ल्याउन तालिका सार्वजनिक गरेको बताए।
‘असार ३१ देखि साउन ६ गतेसम्म उडान तालिका सार्वजनिक भएको छ’, उनले भने।
सीसीएमसीले उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा सार्वजनिक गरेको तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ।
कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि स्वदेश ल्याउन थालिएको थियो।
सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ।
भाइरस संक्रमण फैलिनसक्ने भन्दै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय र घरेलु उडान रोके पनि उद्धार उडान गर्दै आएको छ।

प्रतिक्रिया