कारोबार


साँवा-ब्याज भुक्तानीको अवधि बढाउन महासंघकाे माग

साँवा-ब्याज भुक्तानीको अवधि बढाउन महासंघकाे माग

नेपालखबर
असार २४, २०७७ बुधबार १३:१८,

उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुलाई बुझाउनुपर्ने साँवा र ब्याज भुक्तानीको समयावधि बढाउन माग गरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै महासंघले समयावधि बढाउन माग गरेको हो।

महासंघले विज्ञप्ति जारी गर्दै उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको जनाएकाे छ।

‘कैयन उद्यमी व्यवसायीहरु पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको छ’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘इतिहासमै अत्यन्त कम मात्र देखापर्ने यस प्रकारको कठिनतम घडीमा अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएकाले २०७६ चैत्रदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन आवश्यक छ।’

यस्तै महासंघले ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ। साथै आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याउन पनि महासंघले राष्ट्र बैंकसँग आग्रह गरेको छ। उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने महासंघको भनाई छ।

कोरोनाको महाव्याधीका कारण विश्वसहित नेपाल पनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रह्यो। उक्त समयमा मुलकभित्र अत्यावश्यक वाहेक सम्पूर्ण उद्योग व्यवसाय ठप्प रहन पुगे। असार १ गते पश्चात लकडाउनको स्वरूपमा केही परिवर्तन गरी आम मानिसको दैनिक जीवनयापनदेखि अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको निर्णय वमोजिम केही सहजताको महशुस गरिएपनि सार्वजनिक यातायातको सञ्चालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।

यस्तै, चलेका पनि क्षमताको ३०/४० प्रतिशतमात्रमा सञ्चालनमा रहेका छन्। उत्पादित मालवस्तु निर्वाध बजारसम्म पुर्याई बिक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .