कारोबार


लकडाउनले राष्ट्रिय गौरवका आयोजनामा काम रोकिएन, पर्यटन मन्त्रालयले अरु के–के गर्‍यो?

लकडाउनले राष्ट्रिय गौरवका आयोजनामा काम रोकिएन, पर्यटन मन्त्रालयले अरु के–के गर्‍यो?

नेपालखबर
असार १९, २०७७ शुक्रबार ९:४०,

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले चैत ११ देखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले लकडाउनको समयमा पर्यटन क्षेत्र ठप्प भए पनि उद्धार र विकासका कामलाई निरन्तरता दिएको बताएको छ।

मन्त्रालयले पर्यटन क्षेत्र खेल्नेसम्बन्धी निजी क्षेत्रका व्यवसायीसँग छलफल भइरहेको बताएका छन्।

‘उडान खोल्न व्यवसायीले दबाब दिँदै आउनुभएको छ’, मन्त्री भट्टराईले भने, ‘तर उडान खोलेर मात्रै हुँदैन, सार्वजनिक यातायात चलेको छैन। होटल चलेको छैन। सबैसँग समन्वय गर्नुपर्ने हुँदा केही समय लाग्छ।’

उनले पर्यटन मन्त्रालय पनि पर्यटन क्षेत्र खुल्नुपर्ने पक्षमा रहेको भन्दै सीसीएमसी तथा मन्त्रिपरिषदमा छलफल भइरहेको बताए।

लकडाउनले राष्ट्रिय गौरवका आयोजनामा काम रोकिएन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले लकडाउनको समयमा विमानस्थलको कामले निरन्तरता पाएको बताएका छन्।

कोभिड १९ को प्रतिकूलका बाबजुद राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाई निरन्तरता दिइएको उनले बताए।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत काम भएको छ। धावनमार्ग पार्किङ क्षेत्र जोड्ने लिंक ट्याक्सी निर्माण सम्पन्न भएको छ। रन वे लाइट जडानको कार्य अन्तिम चरणमा रहेको, मेसिनरी तथा यन्त्रउपकरण आउने क्रम सुरु भएको विमानस्थलमा २९ चिनियाँसहित २७५ जना कामदारले काम गरिरहेको बताएका छन्।

निजगढ विमानस्थलमा तटबन्ध कार्यतर्फ पसाह खोलाको ३० प्रतिशत, बकैया खोलाको ४० प्रतिशत कार्य भएको मन्त्रालयले उल्लेख गरेको छ। जुरिच अन्तराष्ट्रिय विमानस्थललाई व्यवसायिक प्रस्ताव दिने म्याद सेप्टेम्वर २०२० सम्म थप गरी अन्तिम पटक म्याद बढाइएको मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी पोखरा विमानस्थल यस अवधिमा ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको छ। विमानस्थलमा २ सय ४४ चिनियाँ नागरिक, ९० नेपाली नागरिक र ११० हेभी उपकरणमार्फत लकडाउनको समयमा काम भइरहेको छ। पहुँचमार्ग, कार पार्किङ, ट्रमिनल एरिया वरिपरिको सडकमा काम भइरहेको छ।

त्रिभुवन विमानस्थलमा थप २ वाइडबडी जहाज पार्किङ गर्न गरी एप्रोन निर्माण सम्पन्न भई अब ५ वटा वाइडबडी पार्किङ गर्न सकिने उल्लेख छ। लकडाउनअघि ८० प्रतिशत मात्रै काम भएकोमा लकडाउनको अवधिमा दक्षिणतर्फ ३०० मिटर धावनमार्ग निर्माण शतप्रतिशत काम सम्पन्न भएको बताइएको छ।

भरतपुर, बैतडी, धनगढी, डोटी आन्तरिक विमानस्थलमा रनवे, ट्याक्सी वे एप्रोन कलोपत्रे गर्ने कार्य सम्पन्न भएको छ।

उद्धार र सहजीकरणः अन्तर्राष्ट्रियरुपमा राम्रो छवि
मन्त्री योगेश भट्टराइले विदेशी पर्यटकको सफल उद्धारले विश्वसामु नेपालको छवि राम्रो भएको बताए। उनले पर्यटन बोर्डको समन्वयमा चैत ११ गतेदेखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरूलाई हवाइ मार्गबाट ९५० र सडक मार्गबाट ८७९ विदेशी नागरिकलाई सडक यातायातमार्फत उद्धार गरिएको बताए।

मध्यपूर्व र यूरोपका अतिरिक्त विभिन्न १७ मुलुकहरूबाट मार्च २४ देखि ३० जुनसम्म नेपाल वायुसेवा निगमसहितका अन्य वायुसेवाका कुल २१४ उडानबाट १६ हजार ६७२ नेपालीलाई उद्धार गरी ल्याइएको र नेपालमा अलपत्र परेका विदेशीसहित १२ हजार ४०८ यात्रु विदेश प्रस्थान गरेको प्रगति विवरणमा रहेको छ।

यस अवधिमा भएका कुल २६१ अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमका ९८, हिमालय एअरलाइन्सका ६२, बुद्ध एयरका ४ र श्री एयरलाइन्सका ६ गरी नेपाली वायुसेवा कम्पनीहरूले १७० उडान गरेका छन्।

४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडानबाट करिब ८९१ टन कार्गो भित्रिएको छ भने ४७२ टन कार्गो बाहिरिएको छ ।

लकडाउनमा अवधिमा ४१ अर्बको क्षति
पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनअनुसार मासिक १० अर्ब क्षति भएको अनुमान गरिएको छ। हालसम्म ३४ अर्ब क्षति भएकोमा साउन ७ सम्मको लकडाउनमा थप ७ अर्व खर्च भई कुल ४१ अर्ब क्षति हुने अनुमान गरिएको छ।

मन्त्रालयले हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण अर्थ मन्त्रालयमा पठाएको जनाएको छ। जसअनुसार पुनर्कर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको, होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्याएको, हवाइजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सिफारिस गरिएको बताइएको छ।

होटल रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको साथै वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गरेको विवरण उल्लेख गरेको छ ।

त्यस्तै मन्त्रालयले पदमार्ग ४१ किमि, एकीकृत विद्युतीय सञ्जालसम्बन्धी एप्लिकेसन निर्माण र अनलाइन ट्रयाकिङ सिस्टमको विकास भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad