कारोबार


नेपाल घुम्न आउने पर्यटकलाई ‘ट्रयाकिङ’ गर्ने व्यवस्था

नेपाल घुम्न आउने पर्यटकलाई ‘ट्रयाकिङ’ गर्ने व्यवस्था

नेपालखबर
असार १९, २०७७ शुक्रबार ९:२९,

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल घुम्न आउने पर्यटकहरुलाई ट्रयाकिङ गर्ने प्रणालीको विकास गरिएको बताएका छन्। यससँगै कुनै पनि पर्यटक कुन होटलमा गएर बसेको छ भन्ने कुराको ट्रयाक विभागले गर्न सक्ने उनले बताए।

संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटन विभागको चालू आर्थिक वर्षका कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी गराउँदै विभागमा दर्ता भएका होटलहरुले पर्यटकको पासपोर्ट इन्ट्री गर्नुपर्ने र त्यसको जानकारी प्रणालीबाट तत्काल जानकारी लिन सकिने कुराको विकास गरिएको बताए। यसबाहेक पर्यटन व्यवसायीहरुलाई कोरोनाको सन्दर्भमा पर्ने असरको बारेमा लकडाउन हुनु अघि नै तालिम मार्फत जानकारी गराइएको उनले जानकारी दिए।

महानिर्देशक घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरिएको जानकारी दिए। सबै होटल व्यवसायी र पर्यटन व्यवसायीलाई विभागमा दर्ता गर्ने प्रणालीको विकास गरिएको घिमिरेले बताए। उनले विभागमा दर्ता नभए कुनैपनि होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरु इमिग्रेसनको दर्ता रोजाइमा नपर्ने र पर्यटकहरु नआउने भएकाले दर्ता गर्न सूचना जारी गरिएको बताए।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले नेपालमा कति होटल छन् र तिनमा कति कोठाहरु छन् भन्ने सूचना अझैपनि नरहेको बताए। ति जानकारीहरु एकै निकायमार्फत थाहा पाउने व्यवस्था गर्न चुनौति रहेको उनकाे भनाइ थियाे।

उनले बोर्डको अबको रणनीति विदेशमा नगइकन नेपालमै बसेर नेपालमै बोलाएर मार्केटिङ गर्ने र डिजिटल मार्केटिङ मार्फत मात्रै प्रचारप्रसारको काम गरिने योजना तयार गरिएको बताए। बोर्डले कोभिड १९ बाट सबैभन्दा धेरै पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरु परेकाले उनीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा ड्राफ्ट तयार गरेर मन्त्रालय मार्फत राष्ट्र बैंकसम्म पुर्‍याइएको रेग्मीले जानकारी दिए।

बैठकमा सांसदहरुले नेपालको सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्न अझै धेरै काम गर्नुपर्ने बताए। अहिलेसम्म नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम हुन नसकेको तर धेरै नै बजेट खर्च हुने गरेको सांसदहरुले बताए। स्थानीय संस्कृति र पुराना संस्कृतिको संरक्षण गर्दै आधुनिक किसिमले पर्यटन व्यवसायलाई अगाडि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad